
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
जर्जको अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए।
जर्ज मेसी लियोनल मेसीको फुटबल करियरका सुरुवाती दिनदेखि नै महत्वपूर्ण अभिभावक र सल्लाहकारका रूपमा रहेका थिए।
मेसीले मैदानमा आफ्नो यात्रा सुरु गर्दादेखि विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्दा सम्म जर्जले उनको साथ दिएका थिए।
जर्जले मेसीका तर्फबाट विभिन्न क्लब तथा व्यावसायिक कम्पनीसँग सम्झौता र वार्ता गर्दै आएका थिए। मेसीको खेल करियरसँगै उनको व्यावसायिक तथा आर्थिक संरचना निर्माणमा पनि जर्जको महत्वपूर्ण भूमिका थियो।
पछिल्ला केही वर्षमा जर्जको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। पछिल्लो विश्वकपका क्रममा लियोनल मेसीले पनि आफू कठिन व्यक्तिगत परिस्थितिबाट गुज्रिरहेको संकेत गरेका थिए।
मेसीको सफल फुटबल यात्रामा पर्दापछाडिबाट निरन्तर साथ दिएका जर्जको निधनसँगै अर्जेन्टिनाका स्टारले आफ्नो जीवनका एक महत्वपूर्ण व्यक्तिलाई गुमाएका छन्।
काठमाडौं । मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् ।
मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।
मोर्चामा तत्कालीन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी पनि सहभागी भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा विद्यमान नीतिगत जटिलता र अव्यवहारिक व्यवस्था सुधारको माग गर्दै श्रमिक पठाउने कार्य स्थगित गर्ने घोषणा गरेको छ ।
संघले शुक्रवार पत्रकार सम्मेलन गदै वर्तमान परिस्थितिलाई ‘शून्य समय’ मानेर नीतिगत सुधार नभएसम्मका लागि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । देशको अर्थतन्त्रमा रेमिट्यान्सको माध्यमबाट ६४ प्रतिशत घरधुरीलाई समेट्दै विदेशी मुद्रा सञ्चिति र व्यापार घाटा न्यूनीकरणमा ठुलो योगदान पुर्याएको यस क्षेत्रलाई राज्यले बेवास्ता गरेको संघको आरोप छ ।
मानवीय संवेदनशीलतासँग जोडिएको यस व्यवसायलाई नीतिगत अस्पष्टताका कारण मर्यादित र सम्मानित बनाउन नसकिएको संघका अध्यक्ष डिकबहादुर खत्रीले बताए । संघले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गरेको छ ।
संघका अध्यक्ष खत्रीले श्रमिकको पारदर्शी लागत र व्यवसायीको वैज्ञानिक सेवा शुल्क निर्धारणसहित वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न माग गरिएको बताए । संघका मुख्य मागहरूमा विशेष परिस्थितिमा सरकारले गरेको निर्णय पालना गर्दा कारबाहीमा परेका ५९८, ३९ र १२४ इजाजत पत्रवाला संस्थाहरूको कारबाही अभिलम्ब फिर्ता हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, युरोपका विभिन्न मुलुक, दक्षिण कोरियाको ई-७ भिसा, जापानको एसएसडब्लु कार्यक्रम र महिला घरेलु कामदारको मानपत्र प्रमाणीकरणलाई सहज र सुचारु गर्नुपर्ने माग गरे ।
संघले हवाई भाडदारमा हुने कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, मानपत्र प्रमाणीकरण र श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित प्रणालीमा लैजानुपर्ने र ५ हजारभन्दा बढी नेपाली श्रमिक रहेका मुलुकमा अनिवार्य रूपमा श्रम सहचारीको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
यसैगरी, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र मलेसियाको श्रमिक भर्ना प्रक्रियामा देखिएका एकाधिकार र बिचौलियाको चलखेललाई कूटनीतिक पहल मार्फत अन्त्य गर्न संघले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ इजाजतपत्र वितरणमा रोक लगाई निश्चित मापदण्डका आधारमा मात्र इजाजत दिने व्यवस्था मिलाउन पनि माग गरिएको छ ।
वित्तीय व्यवस्थापनतर्फ व्यवसायीले राखेको नगद धरौटीको ब्याज व्यवसायीलाई नै उपलब्ध गराउनुपर्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्था गरी ‘क्यासलेस’ वातावरण सिर्जना गर्नुपर्ने संघको अडान छ ।
खत्रीले नीतिगत सुधार पश्चात् मात्र व्यवसायीहरू पुनः काममा फर्कने प्रतिबद्धता जनाउँदै आफ्ना मागहरू अविलम्व सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आग्रह गरे ।
विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले अनुसन्धानका क्रममा हालसम्म ५२६ जना रोहिंग्या नेपालमा रहेको तथ्य फेला परेको जानकारी दिएका हुन्। यसअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या समुदायका केही व्यक्ति नेपाल प्रवेश गरेको पाइएको बताएका थिए।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका रहेका छन्। अनुसन्धानका क्रममा उनीहरू काठमाडौंको कपन, राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको प्रवेश, बसोबासको अवस्था र अन्य सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म कूल १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो ।
सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।
विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाकाे शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ।
विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। अब प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन नियमित रूपमा उपहार घोषणा गरिने व्यवस्था छ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् ।
डा कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
मन्त्रालयले बिराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक बर्ष २०८३।८४ को बजेट मार्फत दुई करोड रकम बिनियोजन गरेको थियो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार बिहान १:१५ बजे बीओपी तातोपानीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोसँगै झरेका ढुंगाहरू एकआपसमा ठोक्किएर उछिट्टिँदा बीओपी परिसरका भवन तथा अन्य संरचनामा क्षति पुगेको हो।
घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको र जस्ताको छानोमा छवटा प्वाल परेको छ। त्यस्तै एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको र अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।
यसबाहेक सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुंगाले लागेर प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीनवटा प्वाल परेको तथा मुख्य गेटअगाडिको सिँढीमा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ।
साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा भ्याट वा प्यान बिल अपलोड गरेका उपभोक्तामध्येबाट उपहार विजेता छनोट गरिनेछ।
विभागका अनुसार उक्त अवधिको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपश्चात् जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ। बम्पर उपहारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। यद्यपि, उपहार दाबी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कुपनमार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ।
बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
पार्थिव शरीर देखेपछि परिवारका सदस्य र आफन्तहरू भावुक बनेका थिए भने विमानस्थलको वातावरण शोकमय बनेको छ ।
गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि परिवारको जिम्मा लगाइएको छ।
वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाका अनुसार नेपाल सरकार, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघ (एनएमए)को समन्वयमा पार्थिव शरीर स्वदेश ल्याउने सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।




