२०८३ जेष्ठ १ गते शुक्रबार
२०८३ जेष्ठ १ गते शुक्रबार

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ पिप्ले गाउँकी माया कठायत दुई छोराछोरीसहित सम्पर्कविहीन भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार कठायत ११ वर्षीया छोरी आशा र पाँच वर्षीय छोरा दीपक कठायतसहित आइतबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन् । श्रीमान् भूपेन्द्र कठायतले आइतबार बेलुका छोराछोरीसहित श्रीमती सम्पर्कविहीन रहेको प्रहरी चौकी गुमीलाई जानकारी दिएका थिए ।

सो जानकारीपश्चात् चौकीका वरिष्ठ हवल्दार गोपाल गुरुङको नेतृत्वमा चार सुरक्षाकर्मी र वडाध्यक्षसहित स्थानीयले खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा घरदेखि तीन किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र एक थान मोबाइल फेला परेको सूचना अधिकारी बुढ्थापाले बताए ।

तीनैजनाको खोजतलासका लागि भेरी नदी तथा त्यसआसपासको क्षेत्रमा इलाका प्रहरी चौकीहरूबाट ३५ प्रहरी र स्थानीय परिचालन गरिएको छ ।

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संसदीय राजनीतिबाट संन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने । म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उनले थप लेखेका छन्, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।

त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जितेका थिए । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।

सप्तरी-२ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए । जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन । अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताएका छन् ।

दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाे ड्रोन आक्रमणबाट इन्धन ट्याङ्कीमा आगलागी हुँदा उडान सेवा अस्थायी रूपमा बन्द गरिएकाे छ ।

आक्रमणपछि सुरक्षाका कारण उडान सेवा बन्द गरिएकाे हाे , जसले यात्रुहरूलाई मर्कामा परेका छन् ।

ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो । दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै नागरिक रक्षा टोलीहरू घटनास्थलमा खटिएर आगो नियन्त्रणमा लिएका छन् ।

‘ड्रोन आक्रमणका कारण विमानस्थल नजिकैको इन्धन ट्याङ्कीमा क्षति पुगेको थियो, जसलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको छ,’ मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ । उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ । विमानस्थल बन्द भएपछि दुबई आउने र यहाँबाट बाहिरिने सयौँ उडानहरू प्रभावित भएका छन् ।

यो घटना कसले र किन गराएको हो भन्नेबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । अधिकारीहरूले ड्रोन आक्रमणको प्रकृति र यसको स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेका छन् ।

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रुपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् । रुपन्देहीको भैरहवास्थित उक्त विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

पर्यटन क्षेत्रमा झन्डै एक खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको भए पनि अपेक्षित परिणाम नआउँदा लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको पर्यटन व्यवसायी अमित गुप्ताले बताए । लुम्बिनी, देव दह, रामग्राम, तिलौराकोट तथा रोहिणी नदी आसपासका क्षेत्र ऐतिहासिक, धार्मिक र बौद्ध सभ्यतासँग जोडिएका महत्त्वपूर्ण गन्तव्य हुन् ।

ती क्षेत्रको प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भए पनि पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी पहल हुन नसक्दा यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुन सकेको छैन ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले अब गठन हुने नयाँ सरकारले पर्यटन प्रवर्द्धन र विमानस्थल सञ्चालनमा प्रभावकारी भूमिका खेल्ने विश्वास निजी क्षेत्रले लिएको बताए ।

उनले यो क्षेत्र बौद्ध सभ्यता, इतिहास र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्ने उल्लेख गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आए पर्यटन प्रवर्द्धन मात्र होइन समग्र आर्थिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

नेपाल भन्सार एजेन्ट सङ्घ भैरहवाका अध्यक्ष मधुप्रसाद पन्थीले रुपन्देही नेपालकै महत्त्वपूर्ण औद्योगिक क्षेत्र भएकाले यहाँ उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक पूर्वाधार र वातावरण सिर्जना गर्न नयाँ सरकारले विशेष ध्यान दिनुपर्ने बताए । भैरहवा औद्योगिक करिडोरमा उत्पादन हुने वस्तुको निर्यात विस्तार गर्न सके उद्योग क्षेत्र थप सशक्त बन्ने उनले बताए ।

विमानस्थल सञ्चालन र नाका व्यवस्थापन प्रभावकारी भए अन्तर्राष्ट्रिय व्यापार विस्तारमा सहयोग पुग्ने उनको धारणा रहेको छ । निजी क्षेत्रका प्रतिनिधिका अनुसार स्थिर सरकार गठन भएपछि लगानीमैत्री वातावरण निर्माण, पर्यटन प्रवर्द्धन, उद्योग विस्तार तथा पूर्वाधार विकासमा सरकारले ठोस् पहल गर्ने अपेक्षा गरिएको छ ।

उनीहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आए लुम्बिनी क्षेत्रको पर्यटन विकाससँगै रुपन्देहीको उद्योग–व्यापारमा पनि ऊर्जा थपिने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ ।

निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।

त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल-मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमतले अमेरिका-इजरायल-इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।

कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कुवेती सिभिल आईडी भएका नेपालीले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सक्ने जनाएको छ ।

कुवेतको वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएर कुवेतमा बसोबास गर्ने नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने भएका हुन् ।

भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने दूतावासले जनाएको छ ।
साउदी भिसाका लागि अनलाइन मार्फत आवेदन दिन अनुरोध गरिएको छ।

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ ।

सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन काँग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन काँग्रेस नेताहरूलाई आग्रह गरेकी थिईन् ।

काठमाडौं । नेपाली कांग्रेसले २० जना समानुपातिक सांसदहरूको टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले १५ महिला र ५ पुरुष सांसदहरूको नाम फाइनल गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले समानुपातिकमा २० सीट जितेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी कांग्रेसका ६२ सांसद हुनेछन्।

त्यसका लागि कांग्रेसले समानुपातिकमा १५ जना महिला उम्मेदवार छान्नुपर्ने र त्यसै बमोजिम गरिएको हो।

आदिवासी जनजातिबाट ६ जना, खस आर्यबाट ६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको गरेर कुल ५ जना सांसदको चयन गरिएको छ। प्रस्तावित यी नाम उपर निर्वाचन आयोगले क्लस्टरवाइज रूजु गरेपछि केही मिलाउनुपर्ने भए फेरबदल हुनसक्ने छ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट २० जना समानुपातिक सांसद:

क. खसआर्य कोटाबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

ख. आदिवासी जनजाति कोटाबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

ग. मधेशी कोटाबाट
१३.निनुकुमारी कर्ण
१४.रेखाकुमारी यादव
१५.चन्द्रमोहन यादव

घ. दलित कोटाबाट
१६.हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

ङ.थारू कोटाबाट
१९. प्रमिलाकुमारी गच्छदार

च. मुस्लिम कोटाबाट
२०.शाहजान खातुन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरुमाथि आयोगले आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत उक्त कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठसँग ७० लाख रुपैयाँ घूस लिएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

अधिकारीले विकास चापागाईं, देवेन्द्र केसी, रवीन्द्र लामिछानेलगायतसँगको मिलेमतोमा घुस लिएको आरोप आयोगले लगाएको छ। उनीहरूले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकम दाखिल गरी घूसको स्वरूप परिवर्तन गरेको दाबी अख्तियारले गरेको छ ।

उक्त रकम भक्तपुरको थिमिस्थित दिव्यश्वरी आयोजनाभित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा प्रयोग भएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले अधिकारीसहित घूस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाउँदै कानुनबमोजिम कारबाहीको माग गरेको छ ।

काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेको छ । सोही पदमा अर्याललाई नियुक्त गर्न सरकारबाट सिफारिस गरिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।