
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा परिस्थित अनुसार आफूलाई ढाल्नुहोस्। व्यर्थको वादविवादबाट टाढा रहनुहोला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो क्रोधलाई आफूमाथि हावी हुन नदिनुहोला। कार्य थाल्नुभन्दा अघि सोचविचार गरेर निर्णय लिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक मामिलाहरू हजुरको पक्षमा आउनेछ। कार्यक्षेत्रमा हत्तारमा निर्णय नलिनुहोला। महत्वकांक्षी योजनाहरू गोप्य राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा कार्य समयमा सम्पादन नहुनाले मन अशान्त रहनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको लाभ उठाउन सक्लान्। समयको सदुपयोग गर्नुहोस्। कार्यक्षेत्रमा उच्च पदस्थ अधिकारीहरूबाट सहयोग मिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहित्य वा लेखन कलामा निखार आउनेछ। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नमा लाभ प्राप्त हुनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने प्रयास गर्नुहोला। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनतले जीवनशैलीमा सुधार आउनेछ। कार्यमा इमानदारी राख्नुहोस् सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। कार्यक्षेत्रमा आफूलाई नयाँ ऊर्जा वा जोशको साथमा प्रस्तुत गर्न सक्नुहुनेछ। आफ्नो व्यक्तित्वले अरूलाई प्रभावित गर्न सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनतको राम्रो परिणाम मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। आफन्तहरूको साथ रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। भ्रमणको साथमा मनोरञ्जनात्मक पल बित्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेश भ्रमणको अवसरको लागि केही दौडधुप गर्नुपर्ला। समय अनुकूल रहेको छ। अवसरवादीहरुबाट सावधान रहनुहोला। सबैतिरबाट अपेक्षित सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नँया जिम्मेवारी वहन गर्नाले मन प्रफुल्लित रहनेछ। मांगलिक कार्यहरूमा सहभागिता हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा आफूलाई प्रतीष्ठित गराउन सकिनेछ। नयाँ कार्यको थालनीबाट लाभ मिल्नेछ। आज गरेको संघर्षले भविष्यको लागि लाभको मार्ग प्रशस्त गर्नेछ। नियमित काम सम्पादन भयेपनि निर्णायक मोडमा मन दुविधामा रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दिन सामान्य रहेको छ। लामो यात्रा गर्दा आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला। घरपरिवारबाट टाढा हुने योग छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ जिम्मेवारी पाउँदा मन खुसी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मबल बढ्नेछ। कार्यक्षेत्रमा व्यवहारबाट लाभ मिल्नुको साथै नयाँ जिम्मेवारीबाट मनग्य धन लाभ हुनेछ। अध्ययन वा व्यावसायिक प्रयासहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले आर्थिक पक्ष मजबुत बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यतिर अग्रसर हुने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विगतका कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ ।
निर्धारित विनिमय दर अनुसार, सिंगापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ९८ पैसा, स्वीस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०३ पैसा र बिक्रीदर चार रुपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन ।
सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको सूची हमासलाई बुझाएको थियो भने हमासले रिहाइको प्रतिबद्धता जनाएको थियो ।
पाँच दिनअघि १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा पठाउन आदेश गरेको छ ।
पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ८८ लाख धरौटीमा रिहा भएका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्धा दायर भएको थियो । आइतबार उनको थुनछेक बहस नसकिएपछि उनलाई न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरिएको हो ।
अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।
काठमाडौँ । राष्ट्रिय परिचय पत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ ।
देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरू मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
अर्को रिट निवेदनमा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा कैयौँ नागरिक भत्ताबाट वञ्चित भएकाले त्यसलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्न माग गरिएको थियो ।
इजरायल र हमासबीचको गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतापछि हमासले आइतबार तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।
टेलिग्राममा एक पोस्ट गर्दै हमासले तीन महिला बन्धकहरूको नाम जारी गरेको हो ।
रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर छन् । तिनीहरूमध्ये एक, एमिली, इजरायल र बेलायतको दोहोरो नागरिकता छ ।
यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले बन्धकहरूलाई रिहा गर्ने नाम नदिएसम्म गाजामा युद्धविराम लम्बिने बताएका थिए ।
युद्धविराम सम्झौता अनुसार आदानप्रदान हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै रिलिज हुनेहरुको नाम खुलाउनुपर्ने हुन्छ ।
काठमाडौं । कानुन व्यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च बार एशोसिएसनको अगुवाइमा कानुन व्यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा विरोध प्रदर्शन गरेका हुन् ।
कानुन व्यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका छन्। विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जोसुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् ।
विरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए । गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।
गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्।
विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित भएकी हुन्।
यहि विमानका कारण आफूले केही दिनअघि नेपालगञ्जको कार्यक्रम समेत गुमाएको उनले स्मरण गरेकी छन्।
गायिका अधिकारी लेख्छिन्,‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनले जानकारी दिएकी छन्।
‘अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्। केही दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु’ अधिकारी लेख्छिन्,‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
रुपन्देही । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।
प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिएपछि आज लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो ।
रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।
मुलुकको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा एक खर्ब दुई अर्ब ३ करोड सरकारी ऋण बढेको छ । यससँगै गत पुस मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ कायम भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
गत असार मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । गत पुससम्मको तिर्न बाँकी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.४६ प्रतिशत हुन आउँछ । कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ३४ अर्ब ७१ करोड (जीडीपीको २१.६४ प्रतिशत) र बाह्य १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ (जीडीपीको २२.८१ प्रतिशत) रहेको कार्यालयले बताएको छ ।
पछिल्ला महिनामा विनिमय दरमा आएको उतारचढावका कारण सार्वजनिक ऋणको दायित्व घटेको छ । ‘यस आर्थिक वर्षको पुस मसान्तसम्म विनियम दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्वको वृद्धिमा प्रभाव परेको छ । गत पुससम्मको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.३१ र आन्तरिक ऋणको हिस्सा ४८.६८ प्रतिशत छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा भनिएको छ ।





