२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

काभ्रेको रोशी गाउँपालिका-७ स्थित रोशी खोला तर्ने क्रममा एक यात्रुवाहक बस खोलाको बीचमै फसेपछि ठूलो दुर्घटनाबाट जोगिएको छ।

कटुन्जेबाट थानसिंहसतर्फ जाने भित्री सडक खण्डअन्तर्गत खरिबोटमा खोला तर्दै गर्दा बस एक्कासि अनियन्त्रित भई खोलाको बीचमै अड्किएको हो। बहाव उच्च रहेको खोलामा बस कोल्टे परेपछि यात्रुहरू आतंकित बनेका थिए।

घटनालगत्तै खटिएका स्थानीय बासिन्दाको तदारुकता र सहयोगमा बसमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। खोलामा फसेको बसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।

बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो ।

अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएका छन् ।

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्दै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गरिएको थियो ।

इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले विभिन्न सांस्कृतिक गतिविधिमार्फत उत्सवको रौनक बढाएका छन् । कार्यक्रममा स्थानीय संस्कृति, कला तथा परम्पराको संरक्षण र प्रवद्र्धनमा जोड दिइएको थियो ।

एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहभागी हुँदै आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा रातभर पानी परेको छ। पाल्पा र कपिलवस्तुमा अन्य क्षेत्रको तुलनामा अत्यधिक वर्षा भएको हो।

हाल लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्। लुम्बिनीका कपिलवस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि बाढी पूर्वानुमान महाशाखाले हाललाई अवस्था सामान्य रहेको जनाएको छ। कर्णालीका हिमाली भेगबाहेक अन्य सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि वर्षाको क्रम अझै बढ्नेछ र केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ।

Global ime bank
TATA Loconav
आज कोशी, बागमती र गण्डकीका थोरै स्थानमा तथा मधेश र लुम्बिनीको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।

यस्तै, कोशी र बागमतीका पहाडका एक/दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेश र कोशीको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने देखिँदैन र पर्सिसम्म हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ।

आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावस्वरूप बुधबारबाटै कोशी, बागमती र गण्डकीमा वर्षाको गतिविधि बढेको हो।

मौसम विभागले सर्वसाधारण र सरोकारवालाका लागि विशेष बुलेटिन जारी गर्दै आगामी आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेश, कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णालीमा भारी वर्षाको सम्भावना छ।

सम्भावित भारी वर्षा र हिमपातको उच्च जोखिमलाई मध्यनजर गर्दै महाशाखाले पदयात्राका लागि हिमाली क्षेत्र पुगेकाहरूलाई तत्काल फर्केर सुरक्षित स्थानमा बस्न र जाने तयारी गरेकाहरूलाई यात्रा स्थगित गर्न आग्रह गरेको छ।

मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म हुन सक्ने निरन्तर वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै लामो दूरीको यात्रा समेत स्थगित गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

हिमाली क्षेत्रका लागि रेड अलर्ट जारी गरिएको छ। थप जानकारीका लागि टोल–फ्री नम्बर ११५५ मा फोन गरी १ थिचेर मौसमसम्बन्धी जानकारी लिन सकिनेछ।

यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको समयावधि तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याएको छ। साथै, नेपालभरका स-साना नदीमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान पनि २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालिएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खराब मौसम र विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घले आजदेखि असोज १२ गतेसम्म लामो दूरीको र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै यात्रा गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन तथा अत्यावश्यक बाहेक यात्रा नगर्न यात्रुहरूसँग अनुरोध गरेको हो।

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहाजको एउटा पांग्रा खुस्किएको छ ।

१३ जना यात्रुसहित नेपालगञ्जबाट गएको सो जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पांग्रा खुस्किएको हो ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पांग्रामा सामान्य समस्या देखिएको र सबै सकुशल रहेको जानकारी दिइन् ।

अहिले सो जहाज धावनमार्गमै रहेको छ । प्राविधिकहरुले जाँच गरिरहेको उनले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी अनिल राज गिरीले आज बिहान ८:२५ बजे जहाज ल्याण्ड गर्ने क्रममा पछाडितिरको एउटा पांग्रा खुस्किएर बाहिर निस्किएको बताए ।

उनका अनुसार सो जहाजमा ७ जना विदेशी र ६ नेपाली गरी १३ जना यात्रु थिए । तीमध्ये पुरुष ११ जना र महिला दुई जना थिए । उनीहरु सबै सकुशल रहेको डिएसपी गिरीले जानकारी दिए ।

नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो। नोटमा बैजनी रंगको घेराभित्र फिक्का हरियो रंग प्रयोग गरिएको छ।

नयाँ नोटको अग्र भागमा सगरमाथाको चित्र, लालीगुराँसको पानी छाप तथा ‘१०००’ अंकित पानी छाप राखिएको छ। त्यस्तै, दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्।

नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। त्यस्तै, नेपालको सात वटा प्रदेशलाई जनाउने गरी सात वटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाइने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका क्रममा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।

कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बीच पनि सुरक्षाकर्मीले खोज, उद्धार तथा पुनःस्थापनाका कार्यमा देखाएको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उनले राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीको योगदानको सम्मानस्वरूप आईपीओमा सहभागिताको व्यवस्था गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताए।

मन्त्री श्रेष्ठले विपद्का क्रममा ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णयसमेत भएको जानकारी दिए । राष्ट्रसेवाका क्रममा त्रिशूली नदीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराइने उनको भनाई छ।

उनले आर्थिक सहयोगलाई क्षतिको क्षतिपूर्ति नभई पीडाको घडीमा राज्यले परिवारप्रति देखाएको साथ र जिम्मेवारीको प्रारम्भिक प्रयासका रूपमा बुझ्नुपर्ने बताए। प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेजअनुसार प्रभावित परिवारलाई आगामी दिनमा थप सहयोग उपलब्ध गराइने उनको भनाइ थियो।
‘मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन,’ मन्त्री श्रेष्ठले भने,‘विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको साथमा उभिनुपर्छ ।’

बाढीबाट प्रभावित घरपरिवार, व्यवसायी तथा अन्य विद्युत् ग्राहकलाई आर्थिक भारबाट राहत दिन विद्युत् सेवासम्बन्धी विभिन्न निर्णयसमेत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिP। उनका अनुसार बाढी प्रभावित ग्राहकको भदौ महिनादेखि न्यूनतम विद्युत् बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः विद्युत् सेवा लिन चाहने ग्राहकलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

बाढीबाट प्रभावित १५ स्थानीय तहका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत उपलब्ध गराउन सकिने विषयमा समेत अध्ययन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुने सम्भावना औँल्याएका छन् ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत भारी वर्षाको आंकलन गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी खण्ड तथा कर्णालीको जुम्ला आसपासका क्षेत्रहरूमा बाढी, पहिरो, डुबान एवं सडक अवरोधको जोखिम उच्च रहने उल्लेख छ ।

विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बद्ध निकाय तथा नागरिकहरूका लागि विशेष आग्रह गरिएको छ ।

बाढी, पहिरो तथा डुबानले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न भनिएको छ ।

ट्रेकिङ वा हिमाली क्षेत्रको भ्रमण तालिका तय गरेका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ ।

नदी, खोला किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ ।

मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित बुलेटिनहरू अवलोकन गर्न तथा सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न भनिएको छ ।

साथै, सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित सम्पूर्ण सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी एवं प्रभावकारी समन्वयमा रहन निर्देशन दिइएको छ ।

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ ।

मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।

घटना भएको तीन दिनपछि उनिहरुको शव मङ्गलबार सामागाउँ पु¥याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनिहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

यससँगै मनास्लुमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षका लाउवी सेङको पनि दोस्रो शिविरमा मृत्यू भएको थियो ।

त्यस्तै नेपाली सहयोगी २० वर्षका टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो । किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् ।

प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ ।

महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार भएको बैठकमा उक्त जानकारी दिँदै ५१५ वटा ट्रक तथा कन्टेनर हराएका बताएको हो ।

पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधारका विषयमा रायसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ ।

महासंघले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघ संगठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासंघका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सदस्य छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।