२०८३ मंसिर ८ गते सोमबार
२०८३ मंसिर ८ गते सोमबार

बाघ मार्न राखिएको पासोमा शिकारी आफैँ  परेर शिकार बनेको घटना चितवनमा सार्वजनिक भएको छ।

गत कात्तिक २ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।  

बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार  थिङले बाघ मार्न पासो थाप्दै गर्दा आफैँ बाघको आक्रमणमा परेका हुन् ।

‘बाघ मार्न थापिएको पासोमा सिकारी परेर बाघको शिकार भएका हुन् । बाघ मार्न गएछन्। उल्टै बाघले मारेछ’, उनले भने, ‘आफूले थापेको पासोमा परेको बाघलाई हेर्न नजिकै पुगेका थिङलाई बाघले पासो नै छिनाएर उम्किँदै आक्रमण गरेर मारेछ । उनीसँगै बाघको शिकार गर्न निकुञ्ज क्षेत्र छिरेका अमृत न्यौपाने भने रुखमा चढेर बाँचेछन् ।’

 सवारीसाधनमा प्रयोग हुने ब्रेकको तार लिएर वन क्षेत्रमा छिरेका थिङले वन क्षेत्रमै बाघका लागि पासो राखेर मार्ने उद्योग गरेको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।

गत कात्तिक २ गते थिङलाई बाघले आक्रमण गरेर मारेको हो । उनी लामो समयदेखि चोरीशिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ । थिङ वन्यजन्तुको आपराधिक पृष्ठभूमिका व्यक्ति भएको निकुञ्जले जनाएको छ तर उनी मरेका दिन सञ्चार माध्यममार्फत भने घाँस काट्न जङ्गल जाने क्रममा बाघले आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

मृतकका परिवारले बाघका कारण मृत्यु भएको भन्दै निकुञ्जको मध्यवर्ती समितिमा क्षतिपूर्तिका लागि माग पनि गरेका थिए। घटनाक्रम रहस्यपूर्ण भएपछि आफूहरूले अनुसन्धान गरेको र वास्तविक कुरा बाहिर आएको प्रमुख संरक्षण अधिकृत पन्तले बताए।

यो घटनामा संलग्न रहेका न्यौपानेलाई निकुञ्जले पक्राउ गरी आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । बाघ मार्ने प्रयास गरेको अभियोगमा गत कात्तिक २९ गते पक्राउ परेका न्यौपानेमाथि अनुसन्धान पूरा भई आइतबार अदालतमा मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। गोरखापत्र दैनिकमा समाचार छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।

लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रलाई लिएर छोटो मिठो यात्रा हुन सक्ला। व्यापार व्यवसायमा प्रतिद्वन्दीहरू हार खानेछन्। सवारी साधनमा धन खर्चको योग छ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। आर्थिक पक्षमा हानिका योग छन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। सहयोगीहरूले सहयोग दिने हुँदा नयाँ कार्यतर्फ अग्रसर हुनुहोला। नोकरी वा पेशामा बुद्धिको उपयोगले सफलता पाइनेछ। भौतिक संसाधनहरू जुटाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह जगाउनेछ। घरायसी काममा धन खर्चको योग छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा मान प्रतिष्ठा बढ्नेछ। विश्वासपात्रबाट धोखा मिल्न सक्छ। कार्यक्षेत्रमा सोचेअनुरूप कार्य पूरा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिने छ। फिजुल खर्च गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक रोजगारमा सफलता पाइनेछ। विदेशतिर बसोबास गर्नेहरूलाई आफन्तबाट शुभ सुचना मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। धार्मिक संस्थामा आवद्ध हुनुहुन्छ भने पदमा उन्नति पाइनेछ। पारिवारिक सद्भावना बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साहस र पराक्रममा वृद्धि हुनेछ। सामाजसेवा वा परोपकार जस्तो कार्यहरुमा रुचि बढ्नेछ। कृषि कार्यमा व्यवसायबाट लाभ मिल्नेछ। सेवामूलक कार्यमा आम्दानी बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आर्थिक पक्ष सामान्य रहनेछ। व्यापार व्यवसायमा गलत निर्णयले विवाद निम्त्याउन सक्छ। अर्थ उपार्जनका नयाँ स्रोतहरू बन्नेछन्। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछ। सहयोगीहरूको साथमा तालमेल मिलाउन गाह्रो हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा अधिकारीहरुको सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पुराना रोकिएका कामहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा श्रम अनुरूप प्रतिफल मिल्नेछ। नोकरीको लागि नयाँ अवसरहरू मिल्नेछ। विद्यार्थीहरूलाई परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्याङ्कन मिल्नेछ। राजनीति प्रभाव बढ्नेछ। कार्य क्षेत्रमा पदोन्नतिको योग छ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

 

नेपाल राष्ट्र बैंकले  सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ ।

युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्यांक, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलर जापानी येन,  साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३  पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६०  पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४०  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा,  मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६२ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५२ रुपैयाँ ५३ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ०९ पैसा तोकिएको छ । त्यसैगरी  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रस्तुत विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने केन्द्रीय बैंक जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थनमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई वटा बैठकका विभिन्न १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका १९ निर्णय :

काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।

पर्सा । वीरगञ्ज महानगर-१२ मुर्ली नयाँ टोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुन, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बाबुआमा हुन् ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएका आरिफ शेख र आसिफ शेख भने फरक-फरक टिमबाट प्रतिनिधित्व गर्दै उपाधि होडका लागि प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै खालको फरक दृश्य संघीय राजधानीभन्दा दुई सय ७० किलोमिटर टाढा रहेको वीरगञ्जको मुर्ली नयाँटोलस्थित दुवै खेलाडीको घरमा पनि देखिन्थ्यो । उनीहरूको बुबा-आमा पनि फरक-फरक टिमको समर्थक बनेर आफ्ना दुवै छोराका टिमलाई हौसला थप्दै थिए। बुबा मोहम्मद कान्छो छोरा आसिफ शेख खेल्ने जनकपुर बोल्ट्सको समर्थक थिए भने आमा भने जेठो छोरा आरिफले खेल्ने सुदूरपश्चिम रोयल्सको समर्थक थिइन्। 

बुबा मोहम्मदले एनपिएल खेलमा दुवै छोरा खेल्ने निश्चित भएसँगै दुवै टिम फाइनलमा प्रतिस्पर्धा गरोस् भन्ने चाहना रहेको सुनाए । “एउटै घरका दुई छोरा फरक-फरक टिमबाट खेल खेलेपछि एउटाले जित्ने र अर्कोले हार्ने त निश्चित जस्तै थियो । त्यसैले पनि बाध्य भएर नै एउटाको समर्थक बन्न परेको हो”, उनले भने, “एनपिएलमा दुवै छोरा फरक फरक टिमबाट प्रतिनिधित्व गरेसँगै आफूलाई दुवै छोराले फाइनल खेलोस् भन्ने चाहना पनि पूरा हुँदा खुसीले गद्गद् भएको छु ।”

शनिबार बेलुकापख आरिफ र आसिफको घर पुग्दा भने बुबा हर्षित मुद्रामा देखिनुहुन्थ्यो भने आमा समा भने केही मलिन मुद्रामा देखिएका थिए। “मलाई त दुवै छोराले खेल जितुन् भन्ने लागेको थियो । तर के गर्नु खेलको नियम त एउटाले जित्नुपर्ने रैछ”, आमा समा प्रवीनले भनिन, “दुवै छोराहरू फरक-फरक टिमबाट खेल्ने भएपछि श्रीमानले जनकपुरको पक्षमा रहनुभयो भने मैले सुदूरपश्चिमको पक्षमा रहेँ ।”

सुदूरपश्चिमले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । त्यो बेलासम्म आमा समालाई सुदूरपश्चिमले एनपिएलको उपाधि जित्नेमा कुनै शंका नै थिएन । उनी सुदूरपश्चिमका खेलाडीले चौका र छक्का हिर्काउँदा भने निकै प्रफुल्लित हुने गरेको सुनाइन् । “मलाई त पहिलो चरणको ब्याटिङ हेरेपछि त सुदूरपश्चिमले उपाधि जित्नेमा ढुक्क जस्तै थिएँ । तर, पछि जनकपुरले उत्कृष्ट कम ब्याक गर्दै उपाधि जित्यो”, उनले भनिन, “जुन टिमले जिते पनि नेपाली क्रिकेटको जित भएको अनुभूति गरेको छु ।” 

सुदूरपश्चिमले  निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सलाई दिएको थियो । तर, शुरुआती चरणमै उत्कृष्ट ब्याटिङ गर्दै जनकपुरले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पछ्याएको थियो । फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्दै उपाधि होड रक्षा गरेको थियो । 

शेख परिवारमा आमा र बुबा फरक-फरक टिमका समर्थक भए पनि दुवै खेलाडीका बहिनी मुस्कान प्रविन भने दुवै दाजुको टिमको समर्थक रहेको बताइन्। “आमा-बाबा अलगअलग टिमको पक्षमा हुनुहुन्थ्यो । मेरा लागि दुवै दाजुहरू बराबर भएकाले दुवैको फ्यान थिएँ”, उनले दाजुहरूको मेहनत र लगनशील भएर खेलेकाले दुवै टिमको समर्थक रहेको बताइन् ।

बुबा मोहम्मद छोराहरू आरिफ र आसिफ आजको यो स्थानसम्म आइपुग्न भने धेरै नै संघर्ष गरेको स्मरण गर्छन् । “छोराहरूको जहाँ-जहाँ खेल हुन्थ्यो । म त्यहीँ पुगेर नै खेल हेरेर हौसला थप्ने काम गर्थेँ”, मोहम्मदले भने, “क्रिकेट खेल्नका लागि आवश्यक पर्ने सबै खालका खेल सामग्री पनि उपलब्ध गराइदिन्थे ।”

आरिफ शेख नेपाली राष्ट्रिय क्रिकेटका अलराउण्डर खेलाडीका रूपमा परिचित हुन । आरिफले वीरगञ्जको नारायणी रङ्गशाला परिसरमा रहेको वीरगञ्ज क्रिकेट मैदानबाट भएको खेल यात्रालाई अहिलेसम्म अविच्छिन्न अघि बढाउँदै आएका छन् । वीरगञ्जको विद्यासदन सेकेन्डरी विद्यालय हुँदै ‘अन्डर १९’ राष्ट्रिय टिममा खेल्दै सिनियर टिमसम्म पुग्न सफल खेलाडीको रूपमा परिचित छन् उनी ।

नेपाली टिममा एक दशकभन्दा लामो समय खेल्दै आएका आरिफ नेपाली क्रिकेट टिमका भरपर्दा खेलाडीका रूपमा चिनिने गर्छन् । ‘लोभर मिडल अर्डर’मा ब्याटिङ गर्ने गर्छन् । आरिफले एनपिएलमा फाइनल खेलमा पनि त्यति उत्साहजनक खेल पस्किन भने सकेनन् । फाइनल खेलमा आरिफले तीन बलमा एक रन बनाएर आउट भए । सुदूरपश्चिम रोयल्सले आरिफलाई एनपिएलको अक्सनमार्फत १५ लाख रुपैयाँ खर्चेर टिममा भित्राएको थियो ।  

आरिफका सहोदर भाइ हुन आसिफ शेख । जनकपुर बोल्ट्सले मार्की खेलाडीका रूपमा आसिफलाई २० लाख रुपैयाँ खर्चेर किनेको थियो । जनकपुर बोल्ट्सका कप्तान अनिल साह घाइते भएसँगै कप्तानको जिम्मेवारी समेत आसिफको काँधमा आइपुगेको थियो । आसिफले फाइनल खेलमा शुरुआती ब्याट्सम्यानका रूपमा क्रिकेट मैदानमा छिरेका थिए । आसिफले फाइनल खेलमा  १९ बल खेल्दै चार चौका र दुई छक्कासहित ३३ रन बनाएका थिए । प्रतियोगिताको अन्य खेलमा राम्रो चल्न नसकेका आसिफले फाइनल खेलमा लाहिरु मिलान्थासँग उत्कृष्ट सुरुआत गरेका थिए ।

विश्वकप जितेको हेर्ने बुबाको धोको

मोहम्मदले आफ्ना छोराहरूलाई उनीहरूको रुचि र चाहनाअनुसार नै क्रिकेटमा लाग्न प्रेरित गरेका थिए । “मेरो प्रशस्त धन सम्पत्ति भएर छोराहरूलाई खेलाडी बनाएको होइन”, उनले भने, “असल संस्कार र शिक्षादीक्षाकै कारणले अहिलेको यो स्थानमा आइपुग्न सफल भएका हुन् ।” उनलाई ‘नेपाली क्रिकेटले विश्वकपको उपाधि जितेको हेर्ने धोको छ । 

आमा प्रवीनले अझै पनि नेपाली क्रिकेट खेलाडी खेल खेलेरै जीविकोपार्जन गर्न नसक्ने अवस्था भएकामा दुःख लागेको बताउँछिन् । “क्रिकेट खेलेरै खेलाडीले आफ्नो जीविकोपार्जन गर्न सक्ने अवस्था गराउनुपर्ने हुन्छ”, उनले भनिन, “त्यसो भएको खण्डमा नयाँ-नयाँ खेलाडीहरू खेलप्रति आकर्षित हुन सक्थे ।”

सम्पत्ति शुद्धिकरणको मुद्दा किनारा नलागेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले बताएकी छन्। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भइसकेको अवस्था छ। अब उनले सदनका कुनै पनि गतिविधिमा सहभागीता जनाउन पाउने छैनन्।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो।

ऐनमा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ भनिएको छ।

यसको अर्थ हो अदालतमा मुद्दा विचाराधिन रहेसम्म, त्यसको अन्तिम किनारा नलागेसम्म लामिछाने तत्कालै धरौटीमा छुटे पनि प्रतिनिधि सभा सदस्यको हैसियतमा सदनका समिति, सदनका अधिवेशनलगायतमा सहभागी हुन पाउने छैनन्।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिए ।

पाथीभरा मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक हो । धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्नु महत्वपूर्ण कार्य भएकाले यसका लागि पहल सुरु गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताए ।

पाथीभरा मन्दिरमा वार्षिक स्वदेशी तथा विदेशी गरि लाखौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ आउने भक्तजनको दर बढ्दै गएको समितिले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।