२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगीका विभिन्न पदमा गरी ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानव स्रोत विकास विभागको वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) २११ जना, प्रहरी कार्यालय सहायक (भान्छे) ८३ जना, प्रहरी कार्यालय सहायक (हजाम) १५ जना र प्रहरी कार्यालय सहयोगी (कुचिकार) २५ जना माग गरिएको छ।

इच्छुक उम्मेदवारले असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइट www.nepalpolice.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

प्रहरी सहायक निरीक्षकका लागि अनलाइन माध्यमबाट आवेदन लिन सकिनेछ भने प्रहरी कार्यालय सहयोगी पदका लागि भने उम्मेदवार स्वयं उपस्थित भएर तोकिएका कार्यालयमा आवेदन दिनुपर्नेछ।

 

 

मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्।

पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन्।

यही असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए। विगतमा जात्रा नियमित हुनसकेको थिएन।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो। त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए। उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्।

२०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका थिए। मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए।

आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख बढी खर्च हुने गरेको छ।

नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ। मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ।

जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतंक मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो।

त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ।

पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ। उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ।

भोटेकोशी बाढीबाट प्रभावित भई आश्रयस्थल (होल्डिङ सेन्टर)मा बस्दै आएका यहाँका प्रभावित क्रमशः होल्डिङ सेन्टर छाडेर क्रमशः अस्थायी बसोबासतर्फ केन्द्रित भएका छन् ।

गत भदौ १० गते आएको विनासकारी बाढीका कारण जिल्लाका चार स्थानीय तहका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न जिल्लाका विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।

होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन् ।

बाढी आएलगत्तै सरकारले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने कामलाई प्राथमिकता दिएको थियो । त्यसपछि खोज तथा उद्धार, राहत तथा प्रभावितलाई सुरक्षित रूपमा राख्न होल्डिङ सेन्टर व्यवस्थापनमा जोड दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत भदौ १२ गते जिल्लाका १२ स्थानमा होल्डिङ सेन्टर निर्माण गरिएकामा आठ स्थानमा एक हजार २९० जना प्रभावितलाई राखिएको थियो ।

गत भदौ २२ गतेसम्म आइपुग्दा होल्डिङ सेन्टरको सङ्ख्या र बसोबास गर्नेको सङ्ख्या सबैभन्दा धेरै भएको थियो । त्यस दिन उक्त सेन्टरको सङ्ख्या २८ पुगेको र त्यहाँ बस्नेत प्रभावितको सङ्ख्या दुई हजार ६३७ पुगेको थियो ।

पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्ने प्रभावितको सङ्ख्या क्रमशः घट्दै गएको छ । बिहीबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको सङ्ख्या घटेर १६ मा झरेको छ । त्यहाँ बसोबास गर्नेको सङ्ख्या ८३२ जना रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार होल्डिङ सेन्टर छाडेर प्रभावित अस्थायी बसोबासको बन्दोबस्तमा जुट्न थालेका छन् । बाढीले प्रभावित भएलगत्तै हेलिकप्टरलगायतका माध्यमबाट उद्धार गरेर राखिएकालाई खानपानसहितको बसोबास उपलब्ध गराई सहजीकरण गरिएको थियो ।

हराइरहेका आफन्तको खोजी जारी छ । बेपत्ता भएकाहरू नभेटिएपछि अन्तिम संस्कारका लागि पनि मानिसहरू जान थालेका छन् । सो क्रमसँगै क्रमशः सङ्ख्या घट्दै गएको प्रजिअ रेग्मीको भनाइ छ ।

होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ ।

जिल्लामा सबैभन्दा धेरै प्रभावित रहेको विदुर नगरपालिकाले कोठा भाडाबापत मासिक रु १० हजार उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार होल्डिङ सेन्टर छाडेर कोठामा बस्न जाने प्रभावितलाई खाद्य सामग्री, भाँडाकुँडा, सरसफाइका सामग्रीसहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णयपछि कोठामा जानेको सङ्ख्या बढेको हो ।

‘बाढी प्रभावित कोठा लिएर बस्न थाल्नुभएको छ । पालिकाले घोषणा गरेको प्याकेज कार्यक्रम लिन आउनेको सङ्ख्या बढ्दो छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘सङ्घीय सरकारले पनि प्रतिपरिवार मासिक न्यूनतम रु १५ हजार दिने घोषणा गरेकाले दोहोरोपन नहोस् भनेर भाडाबापतको रकम दिन बाँकी छ ।’

तीनै तहका सरकारले बाढीको जोखिमबाट उद्धार गरिएका प्रभावितलाई राख्न सञ्चालनमा ल्याइएका आश्रयस्थल खाली गर्न सहज होस् भनेर कोठाभाडाबापतको रकमसहित विभिन्न सुविधा घोषणा गरेका छन् ।

सरकारी घोषणासँगै प्रभावितहरूले पनि होल्डिङ सेन्टरको बसाइ छाडेर अस्थायी बसोबासको प्रबन्ध मिलाउन थालेका छन् । प्रभावितको सहजीकरणका लागि सरकारले उनीहरूको चाहनाअनुसारको रणनीति अपनाएको छ ।

उपयुक्त स्थानमा कोठा नपाउने वा कोठामा बस्न नसक्ने प्रभावितका लागि अस्थायी संरचना निर्माण गर्ने तयारी भइरहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना धादिङले बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई होल्डिङ सेन्टरमा बस्दै आएकासँग प्रश्नावलीमार्फत उनीहरूको आवश्यकताबारे जानकारी सङ्कलन गरेको छ । कोठा लिएर बस्न नचाहने वा त्यसरी बस्न नसक्ने परिवारका लागि अस्थायी आवास निर्माण गर्ने तयारी गरिएको छ ।

आयोजना प्रमुख शशेन्द्र घिमिरेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका होल्डिङ सेन्टरमा बसोबास गर्ने दुई हजार २७ परिवारसँग प्रश्नावली भरेर विवरण लिइएको छ ।

त्यसमध्ये करिब ३१ प्रतिशतले सरकारले निर्माण गर्ने अस्थायी आवासमा बस्न चाहेको बताएका छन् । ‘सरकारले नै अस्थायी आवास निर्माण गरिदिए सहज हुने बताउनेमा अधिकांश रसुवाका प्रभावित छन्’, आयोजना प्रमुख घिमिरेले भने ।

भोटेकोशी बाढीपछि सुरक्षित स्थानको खोजीमा विस्थापित भएका अधिकांश प्रभावित नुवाकोटमा बसोबास गरिरहेका छन् । उनीहरूसँग आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले सरकारले अस्थायी संरचना निर्माण गरिदिए बसोबास गर्न सहज हुने बताउँदै आएका छन् ।

हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका केही, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४२ रुपैयाँ १९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ३८ पैसा बिक्रीदर ४०७ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भित्री आँट र आत्मविश्वासले पुराना अवरोधहरू पन्छाउँदै आफ्ना उद्देश्यतर्फ सफलतापूर्वक अघि बढाउनेछ। कार्यक्षेत्रमा यहाँको लगनशीलताको उच्च कदर हुनुका साथै रोकिएका कामहरूले तीव्र गति लिनेछन्। प्रियजनसँगको सामीप्यले मनमा असीम आनन्द र सुख शान्ति छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक दृष्टिले दिन फलदायी रहनेछ र आम्दानीका नयाँ मार्गहरू सहजै पहिल्याउन सकिनेछ। बोलीमा मिठास कायम राख्दा मान सम्मान एवं सामाजिक प्रतिष्ठामा चौतर्फी वृद्धि हुनेछ। पुराना साथीभाइको दर्बिलो साथले आँटेका योजनाहरू द्रुत गतिमा अघि बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहकर्मीहरूसँगको सुमधुर समन्वयले कठिन मानिएका जिम्मेवारी पनि सजिलै र मुस्कुराउँदै फत्ते हुनेछन्। रचनात्मक काममा मन रमाउनुका साथै नयाँ ज्ञान र सिप आर्जन गर्ने सुन्दर अवसर मिल्नेछ। प्रियजनसँगको रमाइलो भेटघाटले दिनभरिको थकान मेटाई नयाँ ऊर्जा दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक मेलमिलाप र आत्मीयताले घरायसी वातावरणलाई निकै सुखद र आनन्दमयी बनाउनेछ। व्यवसायमा संयमताका साथ अघि बढ्दा दीर्घकालीन रूपमा ठूलो आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यप्रति अलिकति सजग रहँदै आफ्नो दैनिक कार्यतालिकालाई निरन्तरता दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नेतृत्वदायी भूमिकामा निखार आउने हुनाले यहाँको कार्यशैली र स्पष्ट विचारको सर्वत्र प्रशंसा हुनेछ। नयाँ व्यावसायिक सम्झौताका लागि वातावरण अनुकूल छ र प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। आफ्नो आन्तरिक क्षमताले सफलताको नयाँ शिखर चुम्ने सुन्दर दिन रहेको छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सूक्ष्म कुरा छिट्टै बुझ्ने स्वभावले हिसाब, कागजपत्र वा व्यवस्थित काममा राम्रो ध्यान जानेछ। सानो गल्ती समयमै सच्याउँदा भविष्यमा आउने ठूलो झन्झटबाट सहजै बच्न सकिनेछ। आफ्नो दैनिक जीवन र दिनचर्यामा पूर्ण अनुशासन कायम राख्नुहोला। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला, संगीत र सौन्दर्यप्रतिको झुकाव बढ्नुका साथै नयाँ व्यावसायिक उपक्रमहरूबाट सोचेजस्तै लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा साख उकासिनेछ भने अग्रजहरूको मार्गदर्शन लिइ गरिएका निर्णयहरू फलदायी हुनेछन्। साझेदारीका काममा विशेष सफलता हात पर्ने योग छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधूरा योजनाहरूलाई मूर्तरूप दिनका लागि उत्तम आन्तरिक ऊर्जा, साहस र मानसिक एकाग्रता प्रदान गर्नेछ। वैदेशिक वा दूरदराजका कामहरूमा सुखद प्रगति हुनुका साथै धनधान्यमा वृद्धि हुनेछ। नयाँ कामको थालनी गर्नका लागि आजको समय अत्यन्तै अनुकूल छ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक, आध्यात्मिक र परोपकारी कार्यमा मन आकर्षित हुनुका साथै अड्किएका आर्थिक कारोबारहरू सुल्झिनेछन्। पठनपाठन तथा बौद्धिक क्षेत्रमा उत्कृष्ट नतिजा हात पर्ने सम्भावना प्रबल छ। घरपरिवारमा कुनै माङ्गलिक कार्यको चर्चाले मनमा बेग्लै उत्साह थप्नेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वरिष्ठ अधिकारी तथा अग्रजहरूको आत्मीय सहयोगले असम्भव लाग्ने कठिन कामहरू पनि सहजै सम्भव बन्नेछन्। कार्यक्षेत्रको व्यस्तताले दिन सक्रिय रूपमा बिते पनि सोचेअनुरूपको नतिजा प्राप्त हुनेछ। धैर्यता र अटुट निरन्तरता नै आजको सफलताको मुख्य साँचो बन्नेछ। आजको शुभ रंग गाढा खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने क्रममा कार्यक्षेत्र र समाजमा विशेष प्रशंसा एवं मान-सम्मान मिल्नेछ। आत्मविश्वासले अरूलाई प्रभावित पार्दै सामाजिक भेटघाटबाट नयाँ सम्भावनाको ढोका खोल्नेछ। आफूले चाहेको कुरा स्पष्ट र निडर रूपमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सकारात्मक दृष्टिकोण र आत्मचिन्तनले मनमा नयाँ उमङ्ग जगाउँदै बिग्रन लागेका कामहरूलाई लयमा फर्काउनेछ। आम्दानीका वैकल्पिक स्रोतहरू फेला पर्नेछन् भने रोकिएका धन हात पर्ने योग छ। शुभचिन्तकहरूको निरन्तर सहयोगले नयाँ सुरुवात अत्यन्तै सुखद र फलदायी रहनेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक ३ रहेको छ।

नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए ।

उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर ग्यास बिक्री गर्दै आएका थिए । 

बालक अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण गरे संगीतकार टंक बुढाथोकीले । उनीहरुबीच बाबुछोराजस्तै सम्बन्ध थियो । तर अहिले आएर यो सम्बन्धमा गम्भीर फाटो आएको छ ।

बुढाथोकीले हिजो सञ्चारकर्मीहरूसँग यो विषयमा पहिलो पटक खुलेर बोले । ‘झिंगेदाउ २’ चलचित्रको प्रिमियरमा पुगेका टंक बुढाथोकीलाई युट्यूबरहरुले घेरेर असान्दर्भिक विषय कोट्याएका थिए । बुढाथोकीले पनि मनको भँडास सबै पोखिदिए ।

अशोक दर्जीसँग अहिले आफ्नो बोलचाल र सम्पर्क नरहेको उनले स्वीकार गरे ।

उनले निकै असन्तुष्ट भावमा भने, ‘बोलचाल पनि छैन, केही पनि छैन मसँग । यति कुरा क्लियर हुनु । दाइसँग (टिका बुढाथोकी पनि त्यहीँ थिए) बोल्छन् । दाइलाई फोन गर्छन् अथवा के गर्छन् । मसँग अशोक दर्जीको उसको आइरहेको फिल्म (पार्वती) को टाइमदेखि हेलो-हाई र केही पनि छैन । यसमा लुकाएर लुक्ने केही कुरा छैन ।’

बुढाथोकी यतिमा रोकिएनन् । उनले अब जिन्दगीमा कसैलाई सहयोग नगर्ने अप्रिय घोषणा समेत गरे ।

‘यति कुरा क्लियर हुनु, म लाइफमा कसैलाई सहयोग गर्दिन अब,’ उनले भने ।

त्यसो त बुढाथोकीको ठूलो रिस चाहिँ अशोक दर्जीभन्दा बढी सामाजिक सञ्जालका फलोअर्ससँग रहेछ । अधिकांशले कमेन्टमा आफूलाई हमेशा ‘अशोक दर्जीलाई युज गरेको’ आरोप लगाएको भन्दै उनले चित्त दुखाए ।

उनले कटाक्षयुक्त भाषामा भने, ‘हो, मैले उसलाई गीत गाउन सिकाउन युज गरेँ । उसलाई मैले बोल्न सिकाएर युज गरेँ । मैले उसलाई एक्टर बनाएर युज गरेँ । करोडौँ खर्च गरेर फिल्म बनाइदिएर हिरो बनाएँ, युज गरेँ । अब म युज गर्दिनँ । म लाइफमा कसैलाई सहयोग पनि गर्दिन ।’

टंक र अशोकको सम्बन्ध बिग्रिनुको कारण चाहिँ टंकका दाजु टिका बुढाथोकीले खोले । उनका अनुसार अशोकले सुरुमा पढाइ सकेर नेपाली सेनामा जागिर खाउन् भन्ने टंक चाहन्थे । तर अशोकले फरक बाटो समातेपछि आफूहरूलाई करिअरको चिन्ता भएको उनको भनाइ छ ।

‘भाइले उसलाई पहिले एसइई सकेर सेनामा जागिर खावस् र लाइफ सेटल होस् भन्ने चाहेको थियो र त्यही सल्लाह दिएको थियो । गीत-संगीतको काम त सेनाको जागिर खाएरै पनि गर्न सकिन्छ भनेको थियो । अशोकले चाहिँ अहिल्यै केही गर्छु भनेर आफ्नो हिसाबले अगाडि बढ्यो । हामीलाई चिन्ता भनेको उसले पढाइ बीचमै छोडेकोमा हो,’ उनले प्रष्ट्याए ।

‘मन विनाको धन २’ मा अशोक दर्जीलाई नराखिएको प्रसंगबाट कुराकानी सुरु भएको थियो । युट्यूवर र टंक बुढाथोकीबीचको पुरा सवाल जवाफ यस्तो छ:

‘मन विनाको धन २’ ठूलोमा अशोक दर्जीलाई नराखिएकै हो त ?

हो । यसमा उनी छैनन् । २ हजार प्रतिशत छैनन् ।

 

खासमा तपाईँहरूको सम्बन्ध किन बिग्रिएको हो ?

एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ । मलाई जतिसुकै जे कमेन्ट गरे पनि हुन्छ, जे भने पनि हुन्छ । जीवनमा टंक बुढाथोकीले अब कसैलाई पनि यसरी ‘यूज’ गर्दैन । अशोक मात्र हैन कसैलाई पनि ।

एउटा बच्चालाई मैले ‘हिरो’ बनाइदिएँ । त्योभन्दा अरू-अरु उसको कार, एरोप्लेनवाला सपना चाहिँ म पूरा गर्न सक्दिनँ । त्योभन्दा ठूला सपनाहरू म आफ्नै छोराको त सक्दिनँ ।

अन्तिममा उनले चाहे भने फेरि जोडिन सम्भव छैन ?

सम्भव नै छैन । असम्भव छ । किनभने मैले पनि आफ्नो परिवार, आफ्नो छोराछोरी… यो समाजको कमेन्ट सुन्दासुन्दा आठ वर्षमा म अति नै भइसकेँ । प्रयोग गर्‍यो, प्रयोग गर्‍यो, प्रयोग गर्‍यो, प्रयोग गर्‍यो । समाजले नै जोड्देको सम्बन्ध थियो, समाजले नै सम्बन्धलाई तोड्दियो ।

कतिपयले अशोकको अरबौँ रुपैयाँ थियो, अब टंकले फिर्ता गर्नुपर्छ भने जस्ता पनि कमेन्ट गरिरहेका छन् नि ?

अँ हो हो । त्यस्ताहरू रहेछन् । मेरो बैंक एकाउन्ट हेर्दा, यताउति सब हेर्दा त्यस्तो देखियो भने फिर्ता गर्न कुनै ठूलो कुरो भएन ।

अशोक भाइको पार्वती लागिरहेको छ । तपाईँले हेर्नुभयो ?

मैले फिल्म हेरेको छैन । म सुटिङमा छु । आज अलिकति ब्रेक मिलाएर यो ज्ञानेन्द्र दाइको रिक्वेस्टले गर्दा म यहाँ आएको हुँ ।

केही शुभकामना सन्देश त दिनुभयो होला नि ?

सधैँ शुभकामना छ नि । बाबुले राम्रो गरिरहेका छन्, अझ राम्रो हुन्छ, राम्रो होस् । उसलाई सधैँ शुभकामना । मैले भनेकै थिएँ, जबसम्म आफ्नो खुट्टामा उभिने छैनन्, तबसम्म म साथ दिनेछु । अब आफ्ना खुट्टामा उभिइसकेका छन् भनेपछि अब मसँग त्यस्तो पहिलाको जस्तो साथ हुनेछैन ।

फादर्स डे पनि अस्ति भर्खर गयो, बाबुले तपाईँलाई त बुवा नै मान्नुहुन्थ्यो, शुभकामना दिनुभयो कि भएन ?

केही पनि भएन ।

अनि चित्त दुखाइ कत्तिको हुन्छ ?

किन चित्त दुखाउने ? उ मेरो छोरा हो र ? मेरो छोराले शुभकामना दियो भइहाल्यो नि ।

तपाईँलाई खासमा के कुराले बढी आहत बनाएको छ ?

अशोकको भन्दा पनि जनताले प्रयोग गर्‍यो, प्रयोग गर्‍यो…भन्ने सुन्दा सुन्दा म वाक्क भइसकेँ । सडकबाट उठाएर ल्याएर आज आफ्नो खुट्टामा उभिएर खाने बनाइदिएँ । तर देशविदेशदेखि सबैतिर युज गर्‍यो, युज गर्‍यो भनिरहेका छन् । कहिलेसम्म सुन्ने ? अब त मेरो छोरोले पनि कमेन्ट पढ्न थालिसक्यो । मेरो छोरो पनि ठूलो भयो । उसले पनि उसको बुवाको लागि लेखेका कमेन्टहरू पढेर चित्त दुखाउने बेला हुन थालिसकेछ ।

सुरुमा अशोक टंकसँग छुट्टिए भन्ने हल्ला भएको थियो । उहाँ आफैँ निस्किनुभएको हो कि अरू केही भएको थियो ?

सबै अन्तर्वार्ताहरू आइरहेका छन् हैन, त्यो मैले भन्नै पर्दैन । अन्तर्वार्तामा उसले सबै कुरा बोलिरहेको छ । अशोकले सबै अन्तर्वार्तामा भनिसकेको छ । फेरि फेरि मैले यसको आन्सर दिनु जरुरी छैन ।

अब च्वाट्टै हात छोड्नै भएको हो त ? सहकार्य हुँदै हुँदैन ?

सहकार्य हुन सक्छ तर ‘मन बिनाको धन २’ मा चाहिँ भएन । अब म यो यूज गर्‍यो भन्नेवाला कमेन्ट सुन्न चाहँदिनँ । पछि फेरि जनताले नै टंक बुढाथोकीले अशोकलाई काम दियोस्, अर्को फिल्ममा हालोस् भनेर मलाई प्रतिक्रिया आयो भने हुन सक्छ ।

अशोकले तपाईँसँग अनुमति लिएर नै पार्वतीमा अभिनय गरेको हो ?

मेरो त्यस्तो अनुमति-सनुमति केही पनि छैन । मबाट गइसकेका छन् उनी । अब उनले मसँग अनुमति लिने, सोध्ने ती दिनहरू, ती कुराहरू सबै सकिएका छन् । म उसको गार्जियन थिएँ, अब होइन । थिएँ, अब त्यो सम्बन्ध त्यहीँसम्म थियो । अबको सम्बन्ध भयो भने व्यावसायिक सम्बन्ध हुन्छ ।

अशोकजीले कुटाइ खाएको भिडियो सार्वजनिक भयो । टंकले किन हात छोड्यो, किन हेरेन भन्ने प्रश्नहरू पनि आएको थियो । त्यो समयमा तपाईँको के थियो रिप्लाई ?

त्यो समयमा म केही बोलिनँ । म आज मात्रै बोलेको हो । बोलेर कामै छैन । मैले जे गरेँ, जे बोले पनि यूजै गर्‍यो भन्ने हो । यूज गर्न छोडेँ के, दिक्क भइसकेँ अब । हुँदाहुँदै एआर (टंकको छोरा) सँगको फोटोमा पनि गाली आइराख्या छ । अब म यस्तो सहँदिनँ के ।

एआरले अब यो कमेन्टहरू पढ्न थालिसक्यो । अब एआर बुझ्न थालिसक्यो । एउटा सडकको बच्चालाई हिरो बनाइदिएर मैले गल्ती गरेँ ।

गल्ती गरेकै महसुस भएको हो त ?

अँ गल्ती गरेँ । अनि त्यो मैले कमेन्ट पाइरहेको छु नि त यूज गर्‍यो भनेर । यूज गर्नु भनेको त गल्ती हो । मलाई गल्ती गरेको महसुस गराइदिनुभएको छ दर्शकहरूले । त्यो कारणले गर्दा यस्तो गल्तीहरू अब जीवनमा म कसैलाई पनि गर्दिनँ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र एकता भइसकेकाले छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन्।

उनले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्न आफूले आवश्यक त्याग र लचकता अपनाउन तयार रहेको पनि बताए।

‘मेरो सर्वोच्च नेता शेरबहादुर दाइलाई आग्रह गर्दछु, छुट्टै बसेर महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन। मेरो तर्फबाट अरू के त्याग गर्नुपर्छ, म तयार छु। म पार्टीको नेता भएपछि अरू थप विषयमा समेटेर लिएर जाने कुरामा केमा लचकता लिएर जानुपर्ने हो, म तयार छु,’ थापाले भने।

थापाले महाधिवेशनमा तल्लो तहका कार्यकर्ताले सहभागिता नजनाउने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। ‘३ गतेको अधिवेशनमा तल वडामा रहेका साथीहरू भाग नलिऊँ भन्ने धेरै ठाउँमा सुनेको छु। यो अलमलमा नरहनु होला,’ उनले भने।

नेताहरूबीच मात्रै एकता भएर नपुग्ने भन्दै थापाले पार्टीका तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई समेत एकताबद्ध भएर महाधिवेशनमा सहभागी हुन आग्रह गरे।

‘नेता एक भएर मात्र हुँदैन, तल्लो तहका कार्यकर्ता पनि एकजुट हुनुपर्छ। त्यसकारण जे–जे कारणले जस–जसले चित्त दुखाउनुभएको छ, एक ठाउँमा आइदिनुहोला,’ थापाले भने।

नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि राहत प्याकेज घोषणा गरेको छ।

बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको जनाइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार बेपत्ता भएकाको खोजी कार्यमा सहयोग, सम्बन्धित परिवारको धर्म तथा परम्पराअनुसार सामाजिक संस्कार गर्न र दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले राहत प्याकेज ल्याइएको हो।

निर्णयअनुसार बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई तत्काल राहतस्वरूप प्रति कर्मचारी/कामदार ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

त्यस्तै, स्थायी कर्मचारीका हकमा प्राधिकरणले क्षतिपूर्ति वा अन्य रकमसम्बन्धी थप निर्णय नगरेसम्म, अथवा बढीमा ६ महिनासम्म, बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक निर्वाह भत्ताका रूपमा उपलब्ध गराउने निर्णय भएको छ। यो सुविधा भदौ महिनादेखि लागू हुने जनाइएको छ।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवार सरकारको जिम्मेवारी भएको बताएका थिए।

‘हामी एउटै परिवार हौँ। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लाउने काम गरोस्,’ उनले भने।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।