
काठमाडौं । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।
मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमापरी मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको रहेका छन् ।
सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।
घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई २ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
बैतडी । जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो ।
बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही स्थानका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विसनदत्त जोशी, बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, बझाङको जयपृथ्वी नगरपालिकाका ४० वर्षीय वसन्तराज रतला, बैतडीको पुर्चौडी–७ निवासी ४० वर्षीया पुष्पा अवस्थीको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको सनाखत हुन बाँकी छ ।
डडेल्धुरा अस्पतालमा बझाङको बित्थडचिर पालिका-७ का १७ वर्षका विसनदत्त जोशी, सोही स्थानका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षका किसनदत्त जोशी, केदारस्यु पालिका-७ बस्सीका २७ वर्षका केशवराज भट्ट र बैतडीको पुर्चीडी नगरपालिका ७ का १५ वर्षीय सुशील जोशीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङमा उपचार भइरहेको छ । उक्त बसमा वरवधु सवार थिएनन् ।
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा बिहीबार राति ८ बजेतिर दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
उनले भने, ‘आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकमा एक महिला र सात पुरुष छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।’
दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकी पठाइएको उनले बताए । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने बताइएको छ ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन प्रचार प्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ ।
आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणा पत्र सार्वजनिक गरी सो को आधारमा प्रचार प्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो व्यवस्था अनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचार प्रसार हुने कार्य तालिका छ । तर, आजसम्म आयोगमा कुनै पनि राजनीतिक दलले घोषणापत्र पेस नगरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ । राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणा पत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको प्रवक्ता जिसीले बताएका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ ।
थापाथलीस्थित काठमाडौँ महानगरपालिका-११ मा भएको बागमती सफाइ अभियानकर्मीहरूको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिएका हुन् ।
विगत १३ वर्षदेखि बागमती तथा उपत्यकाका अन्य नदी एवं खोला तथा सार्वजनिक स्थान, चक्रपथ, नेपालका पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईका स्थानमा सरसफाइ अभियान चलिरहेको छ । उक्त अभियानबाट आमनागरिकको सोचाइमा परिवर्तन भएको पाइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए ।
फोहर वर्गीकरण गरी मोहरको रूपमा वैज्ञानिक रूपले व्यवस्थापन गर्नुपर्नेमा बैठकमा जोड दिइएको छ । फोहर व्यवस्थापनसम्बन्धी नियम कानुन बने पनि त्यसको कार्यान्वयन गर्ने निकायले बेवास्ता गरेकाले यसतर्फ ध्यान दिनुपर्ने सफाइ महाअभियान एवं उपत्यकाका सरसफाइ अभियानकर्मीको भनाइ छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यसतर्फ आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ ।
कर्णाली र सुदूरपश्चिम (एकाध जिल्ला बाहेक) प्रदेशको मतपत्र छपाइ सकिएको छ । प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको दुई करोड चार लाख मतपत्र छपाइ सकेर माघ १६ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो ।
उच्च हिमाली र दुर्गम क्षेत्रका जिल्लालाई उच्च प्राथमिकता दिएर आयोगले मतपत्र छपाइलाई निरन्तरता दिइरहेको छ । मतपत्र माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्ला, जिल्ला पठाउने गरी आयोगले तयारी गरिरहेको छ । निर्वाचनका लागि आवश्यक पर्ने ३७ प्रकारका सामग्री निर्वाचन कार्यालयले सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरेको छ ।
विभिन्न किसिमका निर्वाचन सामग्री भने आयोगले नै खरिद गरेर जिल्ला, जिल्ला पठाउन लागेको हो । सडक पुगेको उच्च पहाडी र हिमाली जिल्लामा ट्रक र उच्च हिमाली जिल्लामा हेलिकप्टरका माध्यमबाट मतपत्रलगायत निर्वाचन सामग्री ढुवानी गरिने आयोगका सहायक प्रवक्ता जिसीले बताए।
विसं २०७९ को निर्वाचनमा खरिद गरी बाँकी रहेका निर्वाचन सामग्री भने आयोगले काठमाडौँ वरिपरि एवं नजिक, नजिकका जिल्लामा पठाइएको जनाएको छ । सेतो कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री यसअघिको निर्वाचनमै खरिद गरी बाँकी रहेको थियो ।
प्रधामन्त्रीको चासाे
त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएकी हुन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि साथमा थिइन् ।
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् ।
उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए ।
उम्मेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उनको भनाइ छ ।
अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य जारी छ ।
हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाई भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ । जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
काठमाडौँ। सरकारले देशभरका ३ लाख बालिकालाई आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप दिने भएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने र १० वर्षका बालिकालाई लक्षित गरी खोप कार्यक्रम अघि बढाइएको हो ।
एचपीभी खोप नियमित कार्यक्रममा समावेश गरेको छ ।
गत वर्ष सरकारले अभियानको रूपमा कक्षा ६ देखि १० सम्मका छात्रासहित विद्यालय नजाने भए १० देखि १४ वर्ष उमेर समूहका किशोरीसमेत गरी १६ लाख किशोरीलाई खोप दिएको थियो । जसमध्ये ९४ प्रतिशतले खोप लगाएका थिए ।
एचभीपी खोप कार्यक्रम भने विद्यालय र स्वास्थ्य संस्था केन्द्रित हुनेछ ।
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्न निकाल्न मिल्ने एटिएम मेसिन जडान गरिएको छ। पूर्ण रूपमा स्वचालित उक्त मेसिनबाट एक पटकमा २० केजीसम्म आफूले चाहेको खाद्यान्न निकाल्न सकिने बताइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयले जडान गरेको उक्त मेसिनलाई ‘ग्रेन एटिएम’ (अन्न वितरक मेसिन) नाम दिइएको प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले बताए। उनका अनुसार अहिले मेसिन मात्र जडान गरिएको छ र केही समयभित्रै मेसिनबाट खाद्यान्न बिक्री–वितरण सुरु गरिनेछ। उनले भने, “यो मेसिन पूर्ण रूपमा अटोमेटिक टेलर मेसिन (एटिएम) प्रविधिमा आधारित छ।”
प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ग्रेन एटिएम (अन्न वितरक मेसिन) सञ्चालनमा ल्याएको प्रमुख बुढाले जानकारी दिए। यस प्रकारका मेसिनमध्ये एउटा काठमाडौँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा र अर्को सुर्खेतमा जडान गरिएको छ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उद्योग देशका मेरुदण्ड भएको बताएका छन् ।
उदयपुर सिमेन्ट उद्योगमा पुगेको तस्बिर सार्वजनिक गर्दै बालेनले यस्तो बताएका हुन् । उद्योगको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने भन्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं महानगरका पूर्वमेयर एवम् झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेनले देशको आर्थिक समृद्धिका लागि उद्योगले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘उद्योगहरू देशको मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्छ ।’
बालेन अहिले चुनावी अभियानमा पूर्व पुगेका छन् ।





