
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन कुनै पनि विवादको विषय नभएको स्पष्ट पारेका छन् ।
निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोप्रति आभार व्यक्त गर्दै उनले यसलाई कांग्रेसमा सार्थक परिवर्तनको साझा उपलब्धि भएको बताए ।
सभापति थापाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस अब कुनै एक नेताको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने र बन्ने पार्टीका रूपमा स्थापित भएको उल्लेख छ । ‘नेपाली कांग्रेस आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको छ,’ विज्ञप्तिमा भनिएको छ।
विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत भए–नभएका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित, जिम्मेवार र एकतावद्ध रहन आग्रह गर्दै थापाले यस प्रक्रियालाई जय–पराजयको रूपमा नलिन आग्रह गरेका छन् । उनका अनुसार कांग्रेस अब नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अघि बढिसकेको छ र रिफर्मको यात्रा सुरु भइसकेको छ ।
सभापति थापाले आशन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । साथै, पार्टीका पूर्व सभापति शेरबहादुर देउवा लगायत विभिन्न तह र निकायमा रहेका नेताहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ रहने विश्वास व्यक्त गरेका छन् ।
विज्ञप्तिमा आजबाट नेपाली कांग्रेसमा कुनै गुट नरहने र गुटगत भागबण्डा नहुने स्पष्ट पारिएको छ । ‘जिम्मेवारी फरक हुन सक्छ, तर भुइँ तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ,’ थापाले उल्लेख गरेका छन् ।
नेपाली कांग्रेस आम मानिसको सार्वजनिक पूँजी भएको उल्लेख गर्दै सभापति थापाले देशभित्र र बाहिर रहेका लाखौं शुभेच्छुकलाई परिवर्तनको यात्रामा साथ दिन आग्रह गरेका छन् । विशेष महाधिवेशनमार्फत विगतका कमजोरीमाथि आत्मआलोचना र समीक्षा गरिएको र उपलब्धिहरूलाई समयानुकूल संस्थागत गर्ने संकल्प लिइएको उनको भनाइ छ ।
सभापति थापाले अब कांग्रेस मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुने स्पष्ट गरेका छन् । संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने प्रतिबद्धता पनि उनले गरे ।
सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच ४ बुँदे सम्झौता भएको छ।
बिहीबार सिंहदरबारमा भदुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाभियानका अध्यक्ष दुर्गा प्रसाद प्रसाईंले हस्ताक्षर गरेको उक्त सम्झौताले लामो समयदेखि जारी सडक सङ्घर्षलाई संवादमार्फत टुंगोमा पुर्याएको छ।
सम्झौताअनुसार महाभियानले उठाउँदै आएको हिन्दु अधिराज्य, राजसंस्था र संघीयता खारेजी जस्ता पेचिला राजनीतिक मागहरूको सम्बोधन गर्न सरकारले ‘संविधान संशोधन सुझाव आयोग’ गठन गर्ने भएको छ। यो उच्चस्तरीय आयोगले संवैधानिक र कानुनी सुधारका लागि विस्तृत अध्ययन गरी सरकारलाई सुझाव पेस गर्नेछ।
त्यस्तै, आन्दोलनका क्रममा अध्यक्ष प्रसाईं र अन्य अभियन्ताहरूमाथि लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिन पनि सरकार सहमत भएको छ। विशेषगरी गत चैत १५ गतेको प्रदर्शनसँग सम्बन्धित संगठित अपराधको मुद्दा र झापा तथा इलाम कारागारमा रहेका बन्दीहरूको रिहाइका लागि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने सहमति पत्रमा उल्लेख छ।
आर्थिक क्षेत्रका समस्या समाधानका लागि पनि सम्झौतामा सरकारले लचकता देखाएको छ। लघुवित्त र सहकारी ऋणीहरूको १ लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्ने विषयमा अध्ययन गर्न कार्यदल बनाइनेछ भने बैंकिङ क्षेत्रमा ‘चेक बाउन्स’ सम्बन्धी कडा प्रावधानलाई सच्याइने भएको छ। अब बैंक तथा वित्तीय संस्थाहरूले भविष्यको मिति राखेर चेक लिन नपाउने र धितो पुनर्मूल्यांकन गरी कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने सहमति भएको छ।
हस्ताक्षर पछि बोल्दै मन्त्री खरेलले सरकार जननागरिकका समस्या समाधानमा गम्भीर रहेको बताए।
यस्तै, अध्यक्ष प्रसाईंले यो सम्झौतालाई ‘नागरिकको जित’को संज्ञा दिँदै अब रचनात्मक रूपमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । योसँगै अब नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा गगन थापा नेतृत्वको कांग्रेसको पक्षमा आएको छ ।
यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।
आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।
पुस २७ गतेदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका थिए । बिहीबार र शुक्रबार दुबै पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोग पुगेर आ–आफ्ना दाबी पेश गरेका थिए ।
यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरुलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरमा सुरु भएका सुधारका प्रयासहरूलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन् । २६ औँ भूकम्प सुरक्षा दिवसको सन्दर्भमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका हुन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछिको समय स्मरण गर्दै उनले सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरेको र देशका ३५ भन्दा बढी जिल्लामा प्राविधिक सेवा पुर्याएको उल्लेख गरे । नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा केवल इन्जिनियरिङ दृष्टिकोण मात्र पर्याप्त नहुने तर्क गर्दै उनले भौगोलिक बनोट र समाजको विविधतालाई सँगै जोडेर लैजानुपर्ने अनुभव साटेका छन् ।
विकासको परिभाषा दिँदै बालेनले भने , ‘नेपालको विकास भन्नु केवल सडक, भवन र ठूला संरचना मात्र होइनन् । सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु नै वास्तविक विकास हो ।’
स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनका लागि भारत पुगेको र अध्ययनपछि सुविधासम्पन्न देशमा बस्ने अवसर हुँदाहुँदै पनि देश फर्किने निर्णय गरेको उनले बताए । महानगरको नेतृत्व सम्हालेपछि पारदर्शी प्रणाली, सेवा प्रवाहमा सुधार र संरचनागत परिवर्तनको सुरुवात भएको दाबी गर्दै उनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी जनतालाई सुविधा दिन सक्छ भन्ने प्रमाणित गरेको उल्लेख गरे । ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ । अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’, उनले भने ।
राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउनु रहेको उनको जिकिर छ । संकट आउनुअघि नै तयारी गर्ने नीति, विपद् सहन सक्ने संरचना र जनताको विश्वास जित्ने शासन व्यवस्था नै आजको आवश्यकता रहेको उनले बताए ।
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले स्पष्ट रूपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।
आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ ।
यस्तै, अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु गरी बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गरी मतदान केन्द्रमा पुग्नुपर्नेछ ।
त्यस्तै, तोकिएको समयमा पुगी मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिब कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यस्तो जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने प्रबन्ध निर्देशिकामा गरिएको छ ।
मतदान केन्द्रमा गएर मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ । मतदान केन्द्रमा खटाइएका कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदानको काममा लगाउनुपर्नेछ ।
मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी तरिकाले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने, मतदानको दिन मतदान कार्यको गतिविधिबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने व्यवस्था निर्देशिकाले गरेको छ ।
मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने र कुनै गैरकानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ ।
यस्तै, मतदान हुनुअघि तथा मतदान सम्पन्न भएपछि मुचुल्का गराई शिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ ।
त्यसैगरी, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्ने तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाले आप्रवासी (इमिग्रान्ट) भिसा नीतिमा व्यापक फेरबदल गर्दै नेपालसहित ७५ देशका नागरिकको भिसा प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमोलाई उद्धृत गर्दै फक्स न्युजले जनाए अनुसार, यो नियम माघ ७ (जनवरी २१) देखि लागू हुनेछ ।
अमेरिकाको यो कदमले स्थायी बसोबासको अनुमति (ग्रिन कार्ड) को पर्खाइमा रहेका थुप्रै नेपालीहरू प्रभावित हुने भएका छन् । अमेरिकी सरकारले आफ्नो देशमा सार्वजनिक आर्थिक भार (पब्लिक चार्ज) बन्न सक्ने सम्भावना भएका आप्रवासीहरूलाई निरुत्साहित गर्न यो कदम चालेको हो । विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई भिसा आवेदकहरूको जाँचबुझ र प्रमाणीकरण प्रक्रियामा कडाइ गर्न निर्देशन दिएको छ । नयाँ निर्देशन अनुसार, यदि कुनै आवेदक भविष्यमा अमेरिकी सरकारको आर्थिक सहायतामा निर्भर हुन सक्ने देखिएमा विद्यमान कानुन बमोजिम उनीहरूको भिसा अस्वीकार गर्न सकिनेछ ।
यो सूचीमा नेपालका अलावा सोमालिया, रुस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायतका देशहरू समावेश छन् । मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरवलोकन नसकिएसम्म यो स्थगन अनिश्चितकालका लागि जारी रहने जनाएको छ । आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबासका लागि दिइने भिसा हो, जुन विद्यार्थी वा भ्रमण भिसाभन्दा नितान्त फरक हुन्छ ।
आप्रवासी भिसामा कडाइ गर्नुअघि गत साता मात्रै अमेरिकाले बिजनेस (बी१) र भिजिट (बी२) भिसामा पनि नयाँ सर्त अघि सारेको थियो । आउँदो माघ ७ देखि नै लागू हुने गरी ल्याइएको उक्त नियम अनुसार अब अमेरिका जाने नेपालीले भिसा लिनुअघि मोटो रकम धरौटी राख्नुपर्ने हुन सक्छ ।
नयाँ नियम अनुसार, कन्सुलर अधिकारीले भिसा अन्तर्वार्ताका क्रममा आवेदकको अवस्था हेरी ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (करिब ७ लाख देखि २१ लाख ६६ हजार रुपैयाँसम्म) धरौटी माग गर्न सक्नेछन् । यो रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आईसीई) मा जम्मा गर्नुपर्नेछ ।
कडा सर्तहरू यतिमै सीमित छैनन् । अब धरौटी राखेर भिसा प्राप्त गर्ने नेपालीहरूले अमेरिका प्रवेश गर्न र बाहिरिनका लागि तीनवटा विशिष्ट विमानस्थल मात्र प्रयोग गर्न पाउनेछन् । यसका लागि बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ केनेडी (जेएफके) अन्तर्राष्ट्रिय विमानस्थल र वाशिङ्टनको डुलिस इन्टरनेसनल एयरपोर्ट तोकिएको छ । अन्य विमानस्थल प्रयोग गरेमा यात्रुलाई नियन्त्रणमा लिन सकिने चेतावनी दिइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन नयाँ केन्द्रीय समिति चयन गरेको छ । भृकुटीमण्डपमा सम्पन्न पार्टीको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
विशेष महाधिवेशनको बन्दसत्रले बहुमतका आधारमा तय गरेको नेतृत्वलाई अन्ततः सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । यससँगै पार्टीको बागडोर युवा नेता गगन थापाको काँधमा आएको छ ।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । पार्टी संगठनको महत्त्वपूर्ण मानिने महामन्त्री पदमा पनि युवा अनुहार नै अगाडि आएका छन् । महाधिवेशनले प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको छ ।
महाधिवेशनले समावेशी सिद्धान्तअनुसार आठजना सहमहामन्त्रीसमेत सर्वसम्मत चयन गरेको छ । जसमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा रहेका छन् ।
यस्तै, खसआर्यतर्फ उदयशमशेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ योगेन्द्र चौधरीले सहमहामन्त्रीको जिम्मेवारी पाएका छन् । पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका छन् ।
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्म सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए ।
उत्तरायण भएपछि शुभ कर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।
तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिल माधव नारायण स्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रत कथा सुरु भइसकेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा आराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।
माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।
‘सहकारी ठगीको मुद्दा यथावत् हो, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको हो,’ महान्यायाधिवक्ता सबिता भण्डारी बरालले भनिन्, ‘यसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न हुँदैन ।’
उनले बुधबार ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन् । यो निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ ।
काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् ।
सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरू निर्वाचन आयोग पुगेका हुन् ।
देउवा पक्षले महामन्त्रीद्वय थापा र शर्मा तथा सह-महामन्त्री फरमुल्लाह मनसुरलाई कारबाही गरिएको जानकारी अद्यावधिक गराउने पत्र लिएर पुगेको छ ।
उता विशेष महाधिवेशन पक्ष देउवा नेतृत्वले दाबी गरेको केन्द्रीय कार्यसमिति आधिकारिक नभएको भन्दै पत्र लिएर पुगेको हो ।
दुवै पक्षले लिएर गएको पत्र अहिले आयोगले अध्ययन गरिरहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।





