
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई यस्तो सुझाव दिएकी हुन् ।
‘घिसिङले सरकारमा रहेर चुनावी वातावरण बनाउने राम्रो काम गरेको, अब पार्टीको काममा लाग्न र चुनावमा जान मेरो सुझाव छ’, प्रधानमन्त्री सुशीला कार्कीले भनिन्- ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ, अब चुनावमा जाने र पार्टीको काममा लाग्ने भए जाँदा हुन्छ।’
कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजीनामा दिन खोजेका थिए । तर त्यतिबेला प्रधानमन्त्री कार्कीले नै थालेका कामहरू सकेर मात्र भनेर रोकेकी थिइन् । उक्त पार्टीमा घिसिङ संरक्षक मात्र बनेका थिए । तर पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति हुने गरी सहमति भएपछि सरकारमा उनको बसाइलाई लिएर मन्त्रिपरिषद् भित्र र बाहिर प्रश्न उठेको थियो ।
चुनावका लागि बनेको गैरदलीय अन्तरिम सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेको व्यक्ति रहनु राम्रो नहुने भन्दै मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । मन्त्रिपरिषद् भित्र मात्र होइन, बाहिर पनि प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई सरकार छोड्न सुझाव दिएकी हुन् ।
घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भएको छ । तर उनले अझै रास्वपाको शपथ लिएका छैनन् । घिसिङ खुला रूपमा राजनीतिमा लागेपछि अन्य मन्त्रीहरूको पनि राजनीतिक दलबाट चुनाव लड्ने चर्चा छ ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ ।
मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको सीडीओ भोला दाहालले बताए ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु अवधि थपिएको हो । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न खोजे पनि सम्भव नभएको बताएका छन्। जाँचबुझ आयोगलाई दिएको बयानमा ओलीले भदौ २४ गतेको अवस्था नियन्त्रणमा लिन सेना परिचालन आवश्यक देखिए पनि त्यो हुन नसकेको उल्लेख गरेका हुन्।
एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ओलीको जवाफमा आन्दोलनमा घुसपैठ भएको दाबी गरिएको छ। बस्नेतका अनुसार ओलीले भदौ २२ गते बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको जिकिर गरेका छन्। तर, आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश गरेको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरेको उनको भनाइ छ।
तत्कालीन फोटो र भिडियोहरूले समेत आन्दोलनमा सहभागी अधिकांश व्यक्ति ‘जेनजी’ पुस्ताका नभएको प्रस्ट देखाएको उनले दाबी गरेका छन्।
भदौ २३ गते तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको ओलीले बताएका छन्। उनले जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिसकेकाले उनीबाट आउने प्रतिवेदन निष्पक्ष हुनेमा ओलीले आशङ्का व्यक्त गरेका छन्।
ओलीले छानबिन आयोगसमक्ष लिखित जवाफ पेस गरेका छन् । योसँगै उनको भ्रमणमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गरिएको छ ।
बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ओलीको जवाफ
गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् ।
मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।
सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।
च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उहाँले बताउनुभयो । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँमा कायम भएको थियो ।
काठमाडौँ । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको हो।
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कर्फ्युका बेलामा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि प्रशासनले अनुरोध गरेको छ । कर्फ्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल रहेको दाबी गर्दै पुराना राजनीतिक दलहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलका नेताहरूले नयाँ पुस्ताप्रति शंका गर्ने गरेको उल्लेख गर्दै देशलाई संकटबाट जोगाउन नयाँ पुस्ता सक्षम रहेको बताएका हुन् ।
उनले बजेट भाषणमा मात्र सीमित रहने संसदलाई जनचासोको केन्द्र बनाउने पार्टी नै रास्वपा भएको जिकिर पनि गरे ।
उनले बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबललाई उकास्ने दाबीसहित नयाँ पुस्ता मिलेर अघि बढिरहेको पनि बताए । उनले पुराना राजनीतिक दलहरुले देशलाई निराशातर्फ धकेलेको आरोप पनि लगाए ।
उनले अहिलेको राजनीतिक संकट समाधान गर्ने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै निर्वाचनको वातावरण खल्बल्याउने गतिविधि नगर्न समेत सबै पक्षलाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुस २१ गते साँझ ६ः०० बजेदेखि भोलि पुस २२ गते बिहान ८ः०० बजेसम्मका लागि कर्फ्यु लगाएका हुन् ।
प्रशासनका अनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्मको सीमानाभित्र कर्फ्यु लागू हुनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेशमा उल्लेख छ ।
कर्फ्यु जारी भए तापनि एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनहरूलाई आवश्यक पहिचानका आधारमा आवत–जावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।कफ्र्यू आदेश तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
सरकारले जेनजी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ ।
सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
जेनजी शहीद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सबैमाथि लगाइएको स्थान हद फुकुवा गरेको छ।
आवश्यक सोधपुछ र बुझ्ने प्रक्रिया सम्पन्न भइसकेकोले ओलीसहित सबैमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आजको निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन् ।
प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा त्यसताका भएका घटनाको जाँचबुझ तथा छानबिनको सिलसिलामा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक र अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने गरी असोज १२ मा निर्णय गरिएकोमा सोधपुछलगायत बुझ्ने कार्य सकिएकाले उक्त निर्णयको औचित्य समाप्त भइसकेको भन्दै फुकुवा गरिएको उल्लेख छ ।





