काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारका प्रतिनिधिसँग औपचारिक छलफल गर्ने तयारी गरेका छन् । आज बुधबार सम्पन्न जेनजीहरूको बैठकले छलफलका लागि प्रतिनिधिमण्डल गठन गरेको हो ।
जेनजी आन्दोलनमा सक्रिय सुदन गुरुङ, पुरुषोत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता र खेमराज साउदसहितका युवाहरू राष्ट्रपति र सरकारसँगको संवादमा सहभागी हुने बताइएको छ ।
यसैबीच, प्रतिनिधिमण्डलका सदस्य सुदन गुरुङले छलफलको मिति तय नभएको बताउँदै, सबै पक्षबीच समन्वय गरेर साझा मुद्दा अघि सार्ने बताएका छन् ।
‘राष्ट्रपति र सरकारसँग छलफल गर्ने भनेर आज छरिएका जेनजीका प्रतिनिधिहरू एकै ठाउँमा भेला भयौँ,’ गुरुङले भने, ‘हामी सबै मिलेर सल्लाह गरेरै प्रतिनिधि छनोट गरेका छौँ । अब मुद्दा पनि साझा बनाएर अघि बढ्नेछौँ ।’
छलफलमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्य, घाइते प्रतिनिधि तथा उनीहरूका प्रतिनिधिहरू समेत सहभागी हुनेछन् ।
गत भदौ २३ र २४ गते काठमाडौंमा व्यापक प्रदर्शनसहित जेनजीको आन्दोलन भएको थियो । त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई सुशीला कार्कीको अध्यक्षतामा ११ सदस्यीय अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको छ । हालसम्म ८ सदस्यीय मन्त्रिपरिषद् घोषणा भइसकेको छ ।









