काठमाडौं । बडादशैंको नवरात्रको पाँचौँ दिन आज हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विशेष पूजा-आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यिनलाई स्कन्दमाताको नामले पुकारिने गरिएको हो । ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा पनि स्कन्दमातालाई चिनिन्छ ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको वर्ण सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ। कमलको फूलमाथि पद्मासनसहित सिंहमा सवार रहने स्कन्दमाताका चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्यापेकी हुन्छिन् भने बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरेकी हुन्छिन् ।
दुर्गा पक्षसमेत भनिने दशैंमा नवदुर्गाका विभिन्न नौ रूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । यस वर्ष काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठहरूलाई विशेष रूपमा सजाइएको छ र दीपावली गरी झिलिमिली बनाइएको छ ।
स्कन्दमाताको पूजा विधि
स्कन्दमाताको पूजा गर्न सर्वप्रथम काठको चौकीमा स्कन्दमाताको प्रतिमा स्थापना गरिन्छ । त्यसपछि गंगा जल वा गोमूत्रद्वारा चौकीलाई शुद्धीकरण गरिन्छ । चौकीमा चाँदी, तामा वा माटोको घडामा जल भरेर कलश स्थापना गर्नुपर्दछ । यसका साथै श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी) र सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।
त्यसपश्चात व्रत र पूजनको संकल्प लिइन्छ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरूको षोडशोपचार पूजा विधिद्वारा पूजा गरिन्छ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरी प्रसाद वितरण गरेपछि पूजा सम्पन्न हुन्छ ।
