प्रतिनिधिसभा बैठक चलिरहेका बेला अब सांसदहरुले सभा हलभित्र मोबाइल फोन प्रयोग गर्न, फोटो वा भिडियो खिच्न नपाउने भएका छन्। संसदकाे गरिमा र बैठकको गम्भीरता कायम राख्न भन्दै नयाँ नियमावलीमार्फत यस्तो कडाइँ गर्न लागिएको हो।
मोबाइल बोक्न प्रतिबन्ध हुने छैन तर खुसुक्क फोन झिकेर सेल्फी खिच्न वा भिडियो, फोटो खिच्न पाइने छैन। युवा सांसदको बाहुल्यता रहेकाे सदनमा बैठकका दाैरान यी गतिविधिमा रोक लगाउन प्रस्ताव गरिएको हो।
मंगलबार सभामुख डीपी अर्यालसमक्ष पेस गरिएको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा’ मा सांसदहरूका लागि मोबाइल प्रयोगसम्बन्धी कडा प्रावधान प्रस्ताव गरिएको छ । रास्वपा सांसद गणेश पराजुलीको नेतृत्वमा गठित समितिले तयार पारेको उक्त मस्यौदामा संसद् बैठक चलिरहँदा पालना गर्नुपर्ने ११ बुँदे नियमहरू समेटिएका छन्। ती मध्ये एउटा एउटा मोबाइल फोन सम्बन्धी हो।
पछिल्लो समय युवा सांसदहरूको बाहुल्यता रहेको सदनमा बैठकका दौरान सेल्फी खिच्ने, भिडियो बनाउने वा सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति देखिएपछि नियमावलीमै यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ । मस्यौदाको नियम ११ को उपनियम ‘ट’ मा सभाहलभित्र मोबाइल फोन अनिवार्य रूपमा साइलेन्ट मोडमा राख्नुपर्ने उल्लेख छ ।
मोबाइल साथमा राख्नै नपाइने भनिएको छैन। साथमा भएको फोन साइलेन्ट मोडमा राख्न मात्र भनिएको हो।









