सत्ताको मातले भुइँ बिर्सिएका आफ्नै सांसदहरूलाई ऐना देखाउँदै लामिछानेले आज संसदीय दलको कार्यालयबाट ठाडो निर्देशन दिए यो पार्टी मालिक बन्न खोज्नेका लागि होइन, सेवक बन्नेका लागि मात्र हो। केही दिनअघि रास्वपाका सांसदहरु विश्वराज पोखरेल र खगेन्द्र सुनारको अभिव्यक्तिका कारण सभापति लामिछानेले निकै आलोचना खेप्नुपरेपछि आज रविले यस्तो फरमान जारी गर्नु परेको हो ।
ओखलढुंगाको विद्यालयदेखि सिन्धुलीको हिरासतसम्म रास्वपा सांसदहरूले प्रदर्शन गरेको अहंकारले पार्टीको नयाँ राजनीतिको नारामाथि नै प्रश्नचिह्न खडा गरिदियो। आफ्ना सांसदहरूको उच्छृङ्खल व्यवहारले पार्टी रक्षात्मक अवस्थामा पुगेपछि सभापति रवि लामिछानेले आज कडा कदम चालेका छन्। पपुलिजमको राजनीतिबाट थकित जनतालाई सिस्टमको भरोसा दिलाउन उनले जारी गरेको १२ बुँदे निर्देशिकाले रास्वपाभित्रका छोटे राजाहरूको सातो उडाएको छ।
बाजागाजासहित राजर्षि ठाँटका साथ ओखलढुंगाको एक विद्यालयमा पुग्दा आफुलाई हेडमास्टरले स्वागत गर्न नआएपछि सांसद पोखरेलको अहंकार माथि धक्का लाग्यो। सोही आवेगमा उनले स्कुलको आँगनमै पुगेर हेडमास्टरलाई तपाई म आएको बेला बाहिर ननिस्किने म माननीय होइन ? मलाई बेवास्ता गर्ने ? भन्दै थर्काए । उक्त भिडियो समाजिक सञ्जालमा भाइरल बन्यो । त्यसअघि सांसद खगेन्द्र सुनारले सिन्धुली प्रहरीको हिरासतमा एक दलित युवाको रहस्यमय मृत्यु भएको घटनामा ऐक्यबद्धता जनाउन सिन्धुली पुगेका थिए । त्यसै क्रममा उनले धम्कीपुर्ण शैलीमा भनेका थिए, कानूनले काम गर्छ गरेन भने यो एसपीलाई मैले यहीँबाट घिसारेर लैजान्छु भन्दै प्रहरी माथि भद्धा मजाक गरेका थिए।
सामान्य घाँसदाउरा काट्दा कारबाही हुन्छ भने हिरासतभित्र मान्छे काट्नेलाई कारबाही हुनुपर्छ कि पर्दैन ? भन्दै उत्तेजक अभिव्यक्ति दिए ।
यी दुवै सांसदको अभिव्यक्तिको उत्तिकै आलोचना भयो । उनीहरुको अभिव्यक्तिमा पार्टी सभापति रवि लामिछानेमाथि प्रश्नै प्रश्नको वर्षा भयो । ती घटनाहरु साम्य हुन नपाउँदै अर्का सांसद केपी खनालाई काँधमा चढाएर गाउँ डुलाउँदै खादा माला अविरले पुरेर भव्य स्वागत भएको भिडियो बाहिरियो । खनाल पनि आलोचनाको जाँतोमा पिसिए ।
पोखरेल, सुनार र खनालको गतिविधिपछि रास्वपा पनि पुरानै शैलीको सामन्ती सोचमा रमेको आरोप लाग्यो ।
आफ्ना सांसदहरुको आलोचनात्मक गतिविधिको शिलशिला रोकिने छाँटकाँट नदेखेपछि अन्ततः रवि लामिछानेले आज अकास्मात संसदीय दलको बैठक डाके । उनी संसदीय दलका नेता होइन्, वरिष्ठ नेता बालेन साह दलका नेता हुन्। तथापी बालेन बैठकमा उपस्थित भएनन् । लामिछानेले नै बैठकको कमाण्ड सम्हाले । र रास्वपाका सबै सांसदहरुको मुख ताला लाग्ने गरी निर्देशन दिए, अब आफैंले आफैंलाई माननीय भने दम्भ नदेखाउनुस् ।
यो सहितका १२ बुँदे निर्देशन आजको बैठकबाट रवि लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुलाई दिएका छन् । बालेन सरकार हिँडेको अध्यादेशको बाटोलाई भने लामिछानेले बचाउ गरेका छन् । प्रधानमन्त्री बालेनले डाकिसकेको संसद अधिवेशन नै स्थगित गरेर अध्यादेश ल्याएपछि रवि लामिछानेले दिएको पुरानो अभिव्यक्ति नै भाइरल बन्यो । जब उनी प्रतिपक्षी थिए, फेसबुकमा लामिछानेले लेखेका थिए ।
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपतकाल लागेको थियो र १/२ हप्तापनि कुर्न नसकिने ?
चार वर्षअगाडी रवि लामिछानेले लेखेको यो स्ट्याटसलाई भाइरल बनाउँदै बालेन सरकारले ल्याएको अध्यादेशसँग जोडिएपछि आज लामिछानले भनेका छन्, पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो।
लामिछानेले दिएको निर्देशनमा भनिएको छ,कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।
रवि र बालेनबिच फाटो आएको, प्रधानमन्त्री बालेनले नै रवि लामिछानेसँग दुरी बढाएको हल्लाकाबीच रविले प्रधानमन्त्री बालेनको कदमलाई साथ दिएका हुन् ।
अध्यादेश ल्याउने कदमलाई मात्रै होइन सुकम्बासी बस्तीमा डोजर चलाउने बालेनको निर्णयलाई पनि रवि लामिछानेले खुलेरै साथ दिएका छन् । यद्यपी भोट माग्ने क्रममा कुनै पनि सुकुम्बासीको घर भत्काउन डोजर आए आफुले छाती थाप्छु भनेको भनाईले रविलाई संकटमा पार्यो ।
रवि लामिछानेको यो १२ बुँदे आचारसंहिता केवल सांसदहरूका लागि निर्देशन मात्र होइन, बरु रास्वपाभित्र मौलाउँदो नव(सामन्तवादु विरुद्धको सर्जिकल स्ट्राइक पनि हो। ओखलढुंगाको विद्यालयमा देखिएको अहम् र सिन्धुलीको हिरासतमा पोखिएको उत्तेजनाले पार्टीको साखमा जुन दाग लगाएको थियो, त्यसलाई पखाल्न लामिछानेले आफ्नै सहयात्रीहरूलाई ऐनाु देखाएका छन्।
अन्ततः, जनताले माननीय शब्दको भारी बोकेका छोटे राजाहरू होइन, भुइँमान्छेको पीडा बुझ्ने सेवक खोजेका हुन्। लामिछानेको आजको गर्जनले पार्टीभित्र अनुशासनको नयाँ जग बसाल्छ या यो केवल एउटा भाइरल भाषणमै सीमित हुन्छ, त्यसको फैसला अबका दिनमा उनका सांसदहरूको व्यवहारले पुष्टि गर्नेछ। अब रास्वपा सुध्रिएर सिस्टम बन्नेछ वा दम्भले थिचिएर इतिहासको अर्को एक थान पुरानो दल बन्नेछ।
रास्वपाले आफुलाई पुराना दलको गन्धसमेत नआउनेगरी कदम उठाईरहँदा पुराना दल नेपाली कांग्रेसले भने आम जनताको भरोषा जित्न आफ्नो शैलीमा व्यापक फेरबदल गर्नुपर्ने देखिएको छ ।










