कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा विधि स्थापनाका लागि केही नगर्नेहरू जनताको विश्वास प्राप्त गरेर आएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा उनले यति ठुलो जनविश्वास प्राप्त गरेर आएको सरकार प्रश्नहरूको घेराबाट घेरिन थाल्यो भने नागरिक निरासा झन् बढेर जाने बताए ।
उनले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसद्को उपेक्षा गरेको आरोपसमेत लगाए । महामन्त्री पौडेलले प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी समेत गरे ।
सरकारलाई समयमै सीमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने भन्दै लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनले बताए ।
सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाइ थियो । कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने उनले जिकिर गरे ।










