बजारमा आक्रामक विज्ञापन, आकर्षक उपहार योजना र व्यापक प्रचारप्रसारमार्फत आफ्नो पहुँच विस्तार गर्दै आएको ‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ अहिले राजश्व छलीको आरोपमा तानिएको छ। सार्वजनिक स्थान, किराना पसल, सार्वजनिक सवारी साधनदेखि स्टार होटलसम्म व्यापक रूपमा बिक्री वितरण हुँदै आएको यो पेय पदार्थमाथि काभ्रेपलाञ्चोकमा बिलबिनाका हजारौं बोतल फेला परेपछि प्रश्न उठेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार विशेष सूचनाका आधारमा बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रबाट बा.प्र.०२–०२५ च २२२३ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिइएको थियो। प्रहरी निरीक्षक कुमार पटेलको नेतृत्वमा खटिएको टोलीले गाडी जाँच गर्दा कुनै बिल बिजक नभएका ‘Xtreme Energy Drink’ का १५० कार्टुन बरामद गरेको थियो। प्रत्येक कार्टुनमा २४ वटा बोतलका दरले जम्मा ३ हजार ६ सय बोतल इनर्जी ड्रिंक्स फेला परेका छन्। साथै ‘BAM BAM’ ब्राण्डका ६ कार्टुन जुससमेत बरामद गरिएको छ।
बरामद सामानको अनुमानित मूल्य १० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ। सामानसँग सम्बन्धित आवश्यक कागजात प्रस्तुत गर्न नसकिएपछि गाडी, चालक र सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ।
एक्सट्रिम इनर्जी ड्रिंक्सले पछिल्लो समय ‘स्क्यानमा छ सुन’ तथा ‘वर्ल्ड कप एक्सट्रिम इनर्जी ड्रिंक फ्यान’ जस्ता आकर्षक योजनामार्फत उपभोक्तालाई तान्ने अभियान सञ्चालन गर्दै आएको छ। विशेषगरी युवा र बालबालिकालाई लक्षित गरी गरिने यस्ता प्रचार अभियानले ब्राण्डको बजार विस्तारमा सहयोग पुर्याएको भए पनि उत्पादनको पारदर्शिता र व्यावसायिक अभ्यासबारे प्रश्न उठ्न थालेका छन्।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले पनि इनर्जी ड्रिंक्सको अनियन्त्रित सेवनप्रति बारम्बार चेतावनी दिँदै आएका छन्। अत्यधिक क्याफिन, चिनी तथा अन्य उत्तेजक तत्वको प्रयोगले बालबालिका, किशोरकिशोरी र युवाको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने उनीहरूको भनाइ छ। यस्ता चेतावनीका बाबजुद पनि एक्सट्रिमको बजार विस्तार र प्रचार अभियान निरन्तर बढिरहेको देखिन्छ।
बनेपामा बिल बिजकबिना ठूलो परिमाणमा एक्सट्रिम इनर्जी ड्रिंक्स फेला परेपछि कम्पनीको कारोबार प्रणालीमाथि नै प्रश्न उठेको छ। यदि अनुसन्धानबाट राजश्व छली, कर छल्ने उद्देश्य वा अन्य गैरकानुनी गतिविधि पुष्टि भए सम्बन्धित व्यक्ति तथा कम्पनीमाथि कानुनी कारबाही हुन सक्ने अधिकारीहरू बताउँछन्।








