काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे ।
उनले भने, ‘खेलकुदको आवश्यकता शारीरिक तथा मानसिक स्वास्थ्यका लागि, समाजका विभिन्न पक्षहरूलाई प्रतिबिम्बित गर्न, समाजको सभ्यता, संस्कृति आदिको परिचय गराउन हो । समाज कस्तो छ भन्ने तस्बिर देखाउन पनि हो । समाजको अवस्था देखाउन खेलकुदको असाधारण भूमिका र महत्व छ । अहिले विश्व फुटबल चलिरहेको छ । हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ । कस्तो उल्टोपाल्टो कुरा छ । हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ ।’
ओलीले नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै त्यसकै कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको दाबी गरे । उनले खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा जोड दिए ।









