नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ।
प्रदेशसभा बैठकमा लामो समयदेखि बिनाजानकारी अनुपस्थित रहँदै आएका देउवालाई पदमुक्त गर्ने निर्णय आज गरिएको हो। सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिँदै यसबारे औपचारिक निर्णय भोलि सुनाउने तयारी रहेको बताए।
देउवा लामो समयदेखि अमेरिकामा रहेका छन्। उनले आफू अमेरिका गएको जानकारी पार्टी, प्रदेशसभा वा प्रदेश सरकार कसैलाई पनि गराएका थिएनन्।
पूर्वमन्त्रीसमेत रहेका देउवाको खातामा भने विगत ११ महिनादेखि प्रदेशसभा सदस्यको तलब गइरहेको थियो।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलगत्तै उनी अमेरिका गएका थिए। त्यसयता उनी प्रदेशसभा बैठकमा उपस्थित भएका छैनन्।
प्रकाशबहादुर देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा हुन्।










