उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषण नियन्त्रणका लागि एक साताको समयसीमा दिएकी छन् ।

सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलका क्रममा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कारबाही गर्ने चेतावनी दिएकी हुन् ।
सिमरा र वीरगञ्ज क्षेत्रका दर्जनौँ उद्योगहरूले प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित हुँदै आएको छ । खोलामा भइरहेको प्रदूषणका कारण बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनीलगायत दर्जनौँ गाउँका लाखौँ बासिन्दा प्रभावित भएका छन् ।

उद्योगहरूले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्दै दूषित पानी खोलामा पठाउँदा स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको मन्त्री कुमारीको भनाइ छ ।
छलफलका क्रममा उनले उद्योगीहरूलाई सिर्सिया खोला प्रदूषणको विषयलाई औपचारिक बैठकमा मात्रै सीमित नराखी तत्काल सुधारका काम थाल्न निर्देशन दिइन् ।
‘राज्यका सम्बन्धित निकायहरूले पटक–पटक सजग गराउँदा पनि हालसम्म कुनै सुधार देखिएको छैन । यस क्षेत्रका जनताको निरन्तर गुनासो आएकाले मन्त्रालय यस विषयमा अत्यन्त गम्भीर छ । तपाईंहरूलाई एक हप्ताको समय छ । के–के सुधार गर्नुपर्ने हो, आजैदेखि थाल्नुहोस् । आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउनेछ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइनेछ,’ मन्त्री कुमारीले भनिन् ।
विगत लामो समयदेखि यस क्षेत्रका किसान तथा स्थानीय बासिन्दाले सिर्सिया खोलालाई पुनर्जीवन दिन माग गर्दै आएका छन् । उद्योगबाट निस्कने रसायनयुक्त पानी तथा औद्योगिक फोहोर उचित व्यवस्थापन नगर्दा यस क्षेत्रको ‘लाइफलाइन’ मानिने सिर्सिया खोला अस्तित्व संकटमा परेको स्थानीयको गुनासो छ ।
मन्त्री कुमारीले एक साताभित्र सुधारका काम सुरु गर्न दिएको निर्देशनपछि स्थानीय बासिन्दाले भने खोलाको प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन् । मन्त्रालयले आगामी साता विशेष टोली परिचालन गरी उद्योगहरूको स्थलगत निरीक्षण गर्ने जनाएको छ ।










