गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सोमबार मनाङेलाई कांग्रेसमा प्रवेश गराएको हो। पार्टी प्रवेशसँगै उनलाई मनाङ संयोजकको जिम्मेवारी दिइएको छ।
१५औँ महाधिवेशन तयारी समिति, सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले मनाङे कांग्रेस प्रवेश गरेको पुष्टि गरेका छन्।

उनका अनुसार मनाङेलाई १५औँ महाधिवेशन तयारी समितिका संयोजक एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनाङ संयोजकको जिम्मेवारी दिएका हुन्।
मनाङे यसअघि दुई पटक स्वतन्त्र उम्मेदवारका रूपमा मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी नेकपा (एकीकृत समाजवादी) मा समेत सक्रिय भएका थिए। नेकपा बनेपछि भने उनी निष्क्रिय रहेका थिए।
यसअघि साउन २८ गते निवर्तमान सभापति देउवा स्वदेश फर्किँदा मनाङे उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
मनाङे विगतमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा रहेर समेत काम गरेका थिए।










