२०८३ आश्विन १४ गते बुधबार
२०८३ आश्विन १४ गते बुधबार

छेपारो पनि लजाउने गरी पाटी फेर्ने दिपक मनाङे कति दिन बस्लान् देउवासँग ?

कबि थापा मगर

खुँडा प्रहार गरेर ग्याङस्टारको हात छिन्नभिन्न पार्ने गुण्डा नाइके कसरी पटक–पटक प्रदेशको मन्त्री बन्छ ? ज्यान मार्ने उद्योगमा अदालतबाट कैद सजाय पाएका व्यक्तिलाई दलहरूले पालैपालो काँधमा थापेर किन स्वागत गरिरहन्छन् ?नेपाली राजनीति बन्यो अपराध छोप्ने अखडा । एमाले, नेकपा, एकीकृत समाजवादी हुँदै असोज १३ मा नेपाली कांग्रेसको देउवा समूहको फेरो समात्न पुगेका दिपक मनाङे गुन्डा नाइकेको ‘अपराधदेखि सांसद हुँदै मन्त्रीसम्मको यात्रा ।

हजारौं पटक रंग फेर्ने छेपारो पनि लजाउने गरी पार्टी फेरेका, गण्डकी सरकारमा सत्ताको साँचो मानिएका दिपक मनाङेको राजनीतिक यात्राको बारेमा चर्चा गर्दैछौं । ठमेलको हप्ता असुली, चक्रे मिलनको हात छिन्ने गरी खुँडा प्रहार, डिल्लीबजारको जेल जीवन अनि ६–६ पटक मन्त्रीपदको चास्नी चाखेका पात्र हुन् । दीपक मनाङे उर्फ राजीव गुरुङ ।

सिद्धान्त, निष्ठा र राजनीतिक आदर्शलाई तिलाञ्जली दिँदै केवल सत्ता, शक्ति र कानुनी संरक्षणका लागि दल बदल्नमा दीपक मनाङे नेपालकै नम्बर एक पात्र सावित भएका छन् ।
काठमाडौँका गल्लीमा हप्ता असुली र गुन्डागर्दीबाट आफ्नो आपराधिक यात्रा सुरु गरेका मनाङे आज राजनीतिलाई ढाल बनाएर पटक–पटक सत्ताको चास्नीमा रमाउने ’सदाबहार’ खेलाडी बनेका छन् ।
छेपारोले आफ्नो जीवनकालमा रङ नफेर्ने गतिमा गतिविधि र पार्टी फेर्दै आएका मनाङेको पछिल्लो अवतरण नेपाली कांग्रेसको देउवा समूहमा भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पनि नेताहरुले आफ्नो साथ छाडेपछि गुण्डा नाइकेको छवि बनाएका, पटक पटक मन्त्री बनेका पात्रको हात थामेका हुन् ।

मंगलबार देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले उनलाई खादा ओढाएर मनाङ जिल्लाको महाधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी सुम्पिए । चुनदेवीस्थित सम्पर्क कार्यालयमा पुगेर देउवालाई भेटेका मनाङेको यो कदम कुनै राजनीतिक निष्ठा होइन, केवल शक्तिमा टिक्ने र राजनीतिक ढाल कायमै राख्ने अर्को रणनीतिक दाउपेच मात्र मानिएको छ ।

२०५० को दशकको सुरुवातमै मनाङबाट काठमाडौँ छिरेका राजीव गुरुङले ठमेल, दरबारमार्ग र नयाँ बसपार्क क्षेत्रलाई आफ्नो क्रीडास्थल बनाए । डान्स बार, ठेक्कापट्टा, र हप्ता असुलीबाट आफ्नो आपराधिक साम्राज्य खडा गरेका उनले ’दीपक मनाङे’को नाममा गुन्डागर्दीको त्रास फैलाए । उनको आपराधिक जीवनको सबैभन्दा चर्चित र भयानक घटना २०६१ साल वैशाख ३१ गते घट्यो । काठमाडौँको महाराजगञ्जमा अर्का गुन्डा नाइके ’चक्रे मिलन’ उर्फ मिलन गुरुङ माथि ज्यान मार्ने नियतले खुँडा प्रहार गरी हात छिन्नभिन्न पारियो । उक्त ज्यान मार्ने उद्योगमा मनाङे प्रमुख अभियुक्त थिए ।

यस प्रकरणमा लामो कानुनी लडाइँ चल्यो । २०६९ सालमा पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनायो । २०८१ कात्तिक २० गते सर्वोच्च अदालतको संयुक्त इजलासले पाटन उच्च अदालतको ५ वर्ष कैद सजायको फैसलालाई अन्तिम रूपमा सदर ग¥यो, जसलगत्तै उनी पक्राउ परी डिल्लीबजार कारागार चलान भएका थिए ।

ज्यान मार्ने उद्योगबाहेक सम्पत्ति शुद्धीकरण, हातहतियार तथा खरखजना र सार्वजनिक अपराधका दर्जनौँ मुद्दाहरू उनीमाथि लागेका थिए । काठमाडौँको अपराधबाट उम्किन र कानुनी कारबाहीबाट जोगिन मनाङेले राजनीतिलाई हतियार बनाए । त्यसपछि सुरु भयो उनको अद्भूत र बहुचर्चित ’पार्टी अदल–बदल’ को शृङ्खला ।२०७३ सालदेखि उनले औपचारिक राजनीतिक यात्रामा होमिए । उनी सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा छिरेर मनाङ जिल्ला अध्यक्ष बने ।

त्यसैको अर्को साल राप्रपा खस्किएपछि केही समय सङ्घीय समाजवादीको फेरो समातेका उनले २०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिए । तत्कालीन एमालेको सहयोगमा जिते पनि अदालतको मुद्दाका कारण उनी ८ महिना जेल परे ।

जेलबाट छुटेपछि कानुनी छिद्र प्रयोग गर्दै २०७५ सालमा सांसदको शपथ लिएलगत्तै उनी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरे । जुन केपी शर्मा वली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर बनाएका पार्टी थियो ।

२०७९ को दोस्रो निर्वाचनमा एमालेलाई फकाएर र विरोधीलाई विभिन्न हत्कण्डा अपनाएर, पछाडि हटाएर मनाङ (ख) बाट निर्विरोध सांसद बनेका मनाङेले चुनाव जितेको केही दिनमै कित्ता बदले ।
स्वतन्त्र सांसदलाई मन्त्री बन्न कठिन हुने देखेपछि २०७९ मंसिर १९ गते माधवकुमार नेपालको हातबाट अबिर लगाएर नेकपा (एकीकृत समाजवादी) मा छिरे । त्यतिबेला उनले “राजनीति कमाउन होइन, निस्वार्थ सेवाका लागि हो“ भन्दै हाँस्यास्पद दाबी गरेका थिए ।

एकीकृत समाजवादी कमजोर बनेपछि र आफ्नो बार्गेनिङ पावर घट्दै गएपछि मनाङे अहिले नेपाली कांग्रेसको देउवा समूहमा प्रवेश गरी मनाङको संयोजक बन्न पुगे । उनको यो दल बदल यात्राले सबैभन्दा बढी रंग फेर्ने क्षमता भएका बोके छेपारोलाई पनि मात दिएको छ ।

६ पटकभन्दा बढी मन्त्रीः गण्डकीका ’किंगमेकर’
गण्डकी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहने स्थिति उत्पन्न हुनु मनाङेका लागि वरदान साबित भयो । १–१ सिटको जोडघटाउमा उनी निर्णायक पात्र बने । उनी एमालेका पृथ्वीसुब्बा गुरुङ, कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, र सुरेन्द्रराज पाण्डेका सरकारमा ६ पटकभन्दा बढी मन्त्री बने । युवा तथा खेलकुद मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय जस्ता शक्ति र बजेट भएका मन्त्रालयहरू उनैले कब्जा गरे ।

मन्त्री छँदा पनि उनको गुन्डागर्दी शैली रोकिएन । कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई कुटपिट गरेको अभियोगमा उनी मन्त्री पदमा छँदै पक्राउ परेका थिए । मिडिया र कर्मचारीमाथि आक्रामक र धम्कीपूर्ण भाषा प्रयोग गर्नु उनको नियमित कार्यशैली बन्यो । यतिसम्म कि उनले मन्त्रालय नै बिक्रिमा राखेको विषय सार्वजनिक भयो । उनी आफैंले बार्गेनिङ गरिरहेको र सार्वजनिक थियो ।
यस्ता, विवादित उनको केही अन्य अभिव्यक्तिहरु यस प्रकार छन् ।

ठमेलको गल्लीमा खुँडा हान्ने गुन्डा नाइकेदेखि प्रदेश सभाको सांसद, पटक–पटकको मन्त्री र पार्टी फेर्ने ’च्याम्पियन’ बनेका दीपक मनाङेको यात्रा नेपाली राजनीतिमा व्याप्त दलगत स्वार्थको सबैभन्दा नग्न रूप भएको टिप्पणी भइरहेको छ । विचार, सिद्धान्त र निष्ठालाई पाइतालामुनि थिचेर सत्ताको चास्नीमा डुबिरहने मनाङेको यो देउवा समूहप्रतिको नयाँ ’निष्ठा’ कति दिन टिक्छ, त्यो त आगामी सत्ताको जोडघटाउले नै तय गर्ने देखिन्छ ।

दीपक मनाङे कुनै आकस्मिक राजनीतिक दुर्घटना होइनन् —उनी नेपाली राजनीतिले आफ्नै हातले हुर्काएको विषवृक्ष हुन् । सिद्धान्तको मलामी गएको हाम्रो राजनीतिमा जबसम्म ’जित्नु र सत्तामा टिक्नु’ नै एक मात्र योग्यता मानिन्छ, तबसम्म ठमेलका गल्लीमा हतियार चम्काउनेहरू नै सिंहदरबार र प्रदेश सभाको कुर्सीमा हुकुम चलाइरहनेछन् ।

प्रश्न केवल मनाङेको नियतमाथि मात्र होइन, अपराधको दाग पखाल्न आफ्नो झण्डा र चिह्न सुम्पिने ती शीर्ष दल र नेताहरूतर्फ पनि सोझिएको छ —जसले सत्ताको एक सिटका लागि लोकतन्त्रकै धज्जी उडाइरहेका छन् । छेपारोले रङ फेरेझैँ दल फेरेर सत्ताको चास्नी चाट्ने मनाङे त केवल एक मुखौटा हुन्; वास्तविक अपराधी त तिनलाई काँधमा हालेर लोकतन्त्रको उपहास गर्ने सिङ्गो राजनीतिक व्यवस्था र यसका नाइकेहरू हुन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।