काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ।

सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको हो।

उनका अनुसार सुरुङमार्गमा सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। सोहीअनुसार सुरुङमार्गमा सूचना बोर्डसमेत राखिएको छ।
सुरुङभित्र स्टन्ट गर्ने, अनावश्यक हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको प्रहरीले जनाएको छ। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीले बताए।
ट्राफिक प्रहरीले सुरुङमार्गमा सवारी चलाउँदा अन्य सडकको तुलनामा थप सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ। सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गति पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
यसैबीच, शुक्रबार मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो।










