कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

बुधवार आयोगलाई ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारी र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेल हुने गरेको भन्दै उनले यसलाई रोक्न स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड दिएका छन् ।
गैरदलीय निर्वाचनले स्थानीय नेतृत्व चयनमा नागरिकको स्वतन्त्र छनोट र प्रत्यक्ष जवाफदेहितालाई प्राथमिकता दिने उनको भनाइ छ ।
अध्यक्ष घिसिङले वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्नसमेत माग गरेका छन् । त्यसका लागि मतदाता नामावली दर्ता तथा अद्यावधिक, सुरक्षित मतदान विधि र आवश्यक संस्थागत पूर्वाधार तयार गर्नुपर्ने उनको माग छ ।
उनले निर्वाचन आयोगलाई दुवै विषयमा आवश्यक अध्ययन, सरोकारवालासँग परामर्श र सम्बन्धित निकायसँग समन्वय गरी आगामी स्थानीय तहको निर्वाचनअघि नै कार्यान्वयन हुने समयबद्ध कार्ययोजना सार्वजनिक गर्न आग्रह गरेका छन् । निर्वाचनमा हुने अपारदर्शी खर्च र अनुचित चलखेल नियन्त्रण गर्न प्रभावकारी अनुगमन तथा जवाफदेहिताको व्यवस्था गर्नसमेत उनले आयोगको ध्यानाकर्षण गराएका छन् ।
घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गर्दै भने, ‘विधिको शासन, पारदर्शिता, जवाफदेहिता, नागरिक सर्वोच्चता र परिणाममुखी सार्वजनिक सेवालाई लोकतान्त्रिक शासनका आधार मान्ने हाम्रो पार्टी स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि उठाएर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको प्रभावकारी माध्यम बनाउनुपर्ने मान्यता राख्दछ ।’
उनले गैरदलीय निर्वाचन प्रणाली अपनाउनु दलीय प्रणालीको विरोध नभएको स्पष्ट पारे । ‘स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको स्थानीय निर्वाचन प्रणाली अपनाउनु भनेको दलीय प्रणालीको विरोध गर्नु होइन । स्थानीय सरकारको मुख्य जिम्मेवारी जनताप्रति उत्तरदायी हुँदै विकास निर्माण र जनसेवा गर्नु भएकोले यी कार्यलाई प्रभावकारी बनाउन गैरदलीय निर्वाचन प्रणाली उपयुक्त हुन्छ भन्ने मान्यताका आधारमा यो अवधारणा अघि सारिएको छ,’ उनले भने ।
उनका अनुसार यही राजनीतिक दृष्टिकोणअनुरूप आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई समेत आफ्नो सरकार चयन गर्न मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उज्यालो नेपाल पार्टीले प्रमुख राजनीतिक मागका रूपमा अघि सारेको छ ।
‘स्थानीय नेतृत्व चयनलाई दलीय शक्ति प्रदर्शन, आर्थिक चलखेल र राजनीतिक ध्रुवीकरणको प्रभावबाट मुक्त गर्दै योग्यता, इमान्दारी र कार्यसम्पादनमा आधारित बनाउन तथा देश बाहिर रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक सहभागिताबाट वञ्चित हुन नदिन यी दुवै विषयमा राज्यका सम्बन्धित निकायले तत्काल ठोस पहल गर्न आवश्यक छ,’ उनले भने ।
घिसिङले विदेशमा रहेका नेपाली नागरिकको निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक तयारीमा जुट्नसमेत आयोगको ध्यानाकर्षण गराएका छन् ।











