२०८३ कार्तिक १५ गते शनिबार
२०८३ कार्तिक १५ गते शनिबार

समाचारको खण्डन गर्दै सांसद विश्वराज पोखरेलले भने– ‘मेरो बदनाम गर्ने प्रयास भयो’

प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसमा उल्लेख गरिएका आरोपहरू निराधार र भ्रामक रहेको बताएका छन् ।

दियोपोस्ट अनलाइनमा प्रकाशित समाचारको खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गरेका पोखरेलले बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेन तथा अन्य विषयमा लगाइएका आरोपहरू कपोलकल्पित भएको दाबी गरेका हुन् ।

उनले समाचारमा उल्लेख गरिएका इनम सापकोटासँग आफ्नो कुनै चिनजान, फोन सम्पर्क वा अन्य कुनै प्रकारको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । कुनै पनि दलाल वा बिचौलियासँग आफ्नो चिनजान, सम्पर्क वा संलग्नता नरहेको उनको भनाइ छ ।

कुनै प्रमाणित तथ्य र आधिकारिक आधारबिना आफ्नो नामलाई आपत्तिजनक आरोपसँग जोडेर सार्वजनिक गर्नु व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमाथिको गम्भीर आघात भएको पोखरेलले बताएका छन् । आफ्नो बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा तथ्यहीन समाचार सम्प्रेषण गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयासको उनले निन्दा गरेका छन् ।

आफ्नो जीवनमा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी आर्थिक कारोबार वा बिचौलियामार्फत अनुचित काम गराउने गतिविधि नभएको उनको दाबी छ । आफूलाई सम्बन्धित विषयमा प्रश्न वा जिज्ञासा भए प्रत्यक्ष सम्पर्क गरी तथ्य बुझ्न सकिने अवस्था हुँदाहुँदै एकपक्षीय र अप्रमाणित सामग्रीका आधारमा समाचार प्रकाशन गर्नु जिम्मेवार पत्रकारिताको मर्मविपरीत भएको उनले उल्लेख गरेका छन् ।

पोखरेलले आफ्नो नाम जोडेर प्रकाशित समाचारको गल्ती सच्याउन र आफ्नो आधिकारिक धारणा समेट्न सम्बन्धित अनलाइनलाई आग्रह गरेका छन् । साथै, आफ्नो प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले झुटा, भ्रामक तथा आधारहीन सामग्री प्रचारप्रसार गर्ने कार्यविरुद्ध प्रचलित कानुनबमोजिम कानुनी उपचार खोज्ने अधिकार सुरक्षित रहेको उनले बताएका छन् ।

३५ वर्षदेखि देश र नागरिकको सेवामा समर्पित रहेको उल्लेख गर्दै पोखरेलले आफ्नो व्यावसायिक निष्ठा र चरित्रमा कुनै दाग लाग्न नदिई राष्ट्रसेवामा समर्पित रहँदै आएको दाबी गरेका छन् ।

आगामी दिनमा पनि सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताका रूपमा ओखलढुंगावासीको सेवामा निरन्तर लागिरहने बताएका छन् ।

 

 

प्रेस विज्ञप्ति

आज दियोपोस्ट नामक अनलाइनमा प्रकाशित समाचारमा मेरो नाम समेत जोडेर बिचौलियासँगको सम्बन्ध, आर्थिक लेनदेन तथा अन्य गम्भीर विषयमा लगाइएका आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा उल्लेख गरिएका आरोपहरू निराधार, भ्रामक तथा कपोलकल्पित छन् । कुनै पनि दलाल वा बिचौलियासँग मेरो जीवनमा चिनजान, सम्पर्क वा संलग्नता छैन । मसँग जोडेर प्रस्तुत गरिएका कथित आर्थिक लेनदेन तथा अन्य आरोपहरू पूर्ण रूपमा भ्रामक र खेदजनक छन् ।

समाचारमा उल्लेख गरिएका इनम सापकोटा नामका व्यक्तिसँग मेरो कुनै चिनजान, फोन सम्पर्क वा कुनै पनि प्रकारको सम्बन्ध छैन । यस सम्बन्धमा प्रकाशित दाबीहरू पूर्णतः निराधार छन् ।

कुनै प्रमाणित तथ्य र आधिकारिक आधारबिना मेरो नामलाई आपत्तिजनक आरोपसँग जोडेर सार्वजनिक गर्नु मेरो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि र सार्वजनिक जीवनमाथि गम्भीर आघात पु¥याउने दुस्प्रयासको घोर विरोध गर्दछु । मेरो बदनाम गर्ने उद्देश्यले नियोजित रूपमा यस्ता कपोलकल्पित, तथ्यहीन समाचार संपे्रशण गर्नु गराउनु र जनमानसमा भ्रम सिर्जना गरी मेरो प्रतिष्ठामाथि क्षति पु–याउने दुस्प्रयासको घोर निन्दनिय छ ।

मेरो जीवनमा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी आर्थिक कारोबार वा बिचौलियामार्फत अनुचित काम गराउने गतिविधि भएको छैन । मसँग सम्बन्धित विषयमा कुनै प्रश्न वा जिज्ञासा भएमा सम्बन्धित पक्षले प्रत्यक्ष सम्पर्क गरी तथ्य बुझ्न सक्ने अवस्था हुँदाहुँदै एकपक्षीय र अप्रमाणित सामग्रीका आधारमा कसैले उक्साएको भरमा गलत समाचार प्रकाशन गर्नु जिम्मेवार पत्रकारिताको मर्मविपरीत हो । अतः मेरो नाम जोडेर संप्रेशन भएको समाचारको गल्ती सच्याउन र मेरो आधिकारिक धारणा समेट्न सम्बन्धित अनलाइनलाई आग्रह गर्दछु ।

मेरो प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले झुटा, भ्रामक तथा आधारहीन सामग्री प्रचारप्रसार गर्ने कार्यविरुद्ध प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्ने अधिकार मसँग सुरक्षित नै छ ।

म सदैव सत्य, तथ्य र विधिको शासनमा विश्वास गर्दछु । ३५ वर्षदेखि निरन्तर रुपमा देश र नागरिकको सेवामा समर्पित हुँदै मैले आफ्नो कर्तव्य इमानदारी, निष्ठा र जिम्मेवारीपूर्वक निर्वाह गरिआएको छु । आजसम्म आफ्नो चरित्र र व्यावसायिक निष्ठा र समाजसेवको क्रममा कुनै दाग लाग्न नदिई राष्ट्रसेवामा समर्पित रहिरहेको कुरा सर्वसाधरण सबैमा जानकारी गराउँदछु र आगामी दिनमा समेत सत्य, निष्ठा र इमानदारीका साथ राष्ट्र र जनताको सेवामा समर्पित रहने मेरो प्रतिबद्धता अटल रहिरहने छ । यसैलाई मेरो जीवनको सम्पत्ति, शक्ति, सामथ्र्य र जनविश्वसको रुपमा जिवन्त राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताको रुपमा ओखलढुंगाबासीको सेवामा निष्ठाको साथ अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

धन्यवाद !

विश्वराज पोखरेल
प्रतिनिधि सभा सदस्य
ओखलढुंगा

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।