मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए।

विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि छलफल जारी रहने मुख्यमन्त्री यादवको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।
त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य छन् ।










