दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा भएको आर्थिक हिनामिना तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। उनलाई जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराका अनुसार सरकारी स्वामित्वको डीडीसीका तत्कालीन महाप्रबन्धक तथा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा गैरकानुनी लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्याएको उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुरूप समूह बनाई संगठित सञ्जालमार्फत १२ करोड १३ लाख ४३ हजार ५ सय ३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याएको खुलेको छ।
शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघातको कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान अघि बढाइएको प्रवक्ता जबराले बताए। यही प्रकरणमा प्रहरीले यसअघि नै आठ जनालाई पक्राउ गरिसकेको छ।











