जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए।

जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले उनको कोठामा पुगेर ढोका ढकढक्याएका थिए।
कोठाको ढोका भित्रबाट चुकुल लगाइएको र झ्यालसमेत बन्द रहेको पाएपछि सहकर्मीले झ्यालको लक तोडेर भित्र प्रवेश गरेका थिए। त्यसक्रममा केसी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए।

उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याइएको थियो। अस्पतालका चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।
घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा शव परीक्षणसम्बन्धी प्रक्रिया पूरा गरी शव परिवारको जिम्मा लगाइएको छ।









