२०८३ मंसिर १४ गते आईतवार
२०८३ मंसिर १४ गते आईतवार

तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्। उनले आगामी मंसिर १७ गते विवाह गर्न लागेको सार्वजनिक गर्दै विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताएका हुन्।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले पहिलोपटक आफ्नो समुदायका माझ विवाहको कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए। उनले आफ्नो विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने स्पष्ट पारे।

‘मंसिर १७ गते मैले विवाह गर्ने भएको छु। आफ्नो समुदायका माझ पहिलोपटक यो कुरा सार्वजनिक गर्न पाउँदा मलाई एकदमै खुसी र गर्व लागेको छ,’ उनले भने, ‘मेरो विवाह पनि एकदमै गुरुङ परम्पराअनुसार गर्ने सोच बनाएको छु।’

गुरुङले विवाहका लागि गोरखा रोज्नुको कारण आफ्नो पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्य रहेको बताए। आफूले अहिले आफ्नो खुसीका लागि मात्रै नभई आगामी पुस्तालाई आफ्नो इतिहास र पहिचान हस्तान्तरण गर्न पनि परम्परागत शैलीमा विवाह गर्न लागेको उनको भनाइ छ।

‘आफ्नो समुदाय, समाज, इतिहास, पुर्खा र गाउँठाउँ बिर्सेर अर्काको संस्कृति अपनाउँदै नयाँ शैलीमा विवाह गर्न मलाई छैन। आफ्नो देशको इतिहास, परम्परा, भेषभूषा र जातीय पहिचान जोगाउनका लागि गोरखा रोजेको हुँ,’ उनले भने।

उनले विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। ऋण लिएर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने मानसिकता गलत भएको उनको धारणा छ।

‘विवाह भनेको एकअर्काका लागि हो, अरूका लागि होइन। दुःख–सुखमा साथ दिने भनेको श्रीमान्–श्रीमती र आफ्नो परिवार हो। त्यसैले विवाहमा अनावश्यक खर्च र तामझाम गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने।

गृहमन्त्री गुरुङले आफ्नो विवाहमा सीमित व्यक्तिहरू मात्रै सहभागी हुने जानकारी दिँदै सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि बताए। पार्टी प्यालेसमा भव्य समारोह गर्न सकिने अवस्था भए पनि त्यसो नगरी परम्परागत शैलीमा विवाह गर्ने आफ्नो र हुनेवाला श्रीमती दुवैको इच्छा रहेको उनले सुनाए।

उनले गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनासमेत औँल्याए। आफ्नो विवाहले गाउँघरका होमस्टे, स्थानीय कला–संस्कृति र हिमाली पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने चाहना रहेको उनको भनाइ थियो।

‘एउटा गृहमन्त्री भएको समयमा पार्टी प्यालेसमा गएर आफ्नो खुसीका लागि मात्रै विवाह गर्न सकिन्थ्यो होला। तर, आफ्नो समुदाय र गाउँठाउँको पहिचान पनि जोगिनुपर्छ। त्यो ठाउँमा पर्यटक आउने वातावरण बनोस्, पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास होस् भन्ने मेरो चाहना छ,’ उनले भने।

विवाहमा सरकारका प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए। यद्यपि, समारोहलाई निकै सीमित र सामान्य बनाउने उनको योजना छ।

सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा गुरुङ समुदायले पुर्‍याएको योगदान पनि स्मरण गरे। आफू सामान्य नागरिक हुँदादेखि नै समुदायले साथ र हौसला दिएको भन्दै उनले देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति आभार व्यक्त गरे।

उनले विगतमा काठमाडौंको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालले दिएको साथ कहिल्यै बिर्सन नसक्ने बताए। सात महिनासम्म चलेको आन्दोलनमा पूर्वका नागरिकले निरन्तर साथ दिएको स्मरण गर्दै उनले पूर्वी क्षेत्र आफ्नो मनमा विशेष स्थानमा रहेको उल्लेख गरे।

आफू अप्ठ्यारोमा पर्दा विभिन्न आरोप र आलोचनाबीच पनि गुरुङ समुदायले साथ दिएको उनको भनाइ थियो। उनले आफ्नो समुदायले सिकाएको देशप्रेमको पाठलाई आगामी पुस्ताले पनि आत्मसात् गर्नुपर्ने बताए।

‘आफ्नो पार्टीको झन्डाभन्दा देश माथि छ भन्ने पाठ हाम्रो समाजले सिकाएको छ। मेरो कठिन समयमा साथ दिने सम्पूर्ण गुरुङ समाजप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भने।

गृहमन्त्री गुरुङले देशमा सुशासन र समृद्धिका लागि सरकार आवश्यक परे जुनसुकै हदसम्म जान तयार रहेको पनि बताए। नागरिकको सुरक्षा र देशको हितका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकको सुरक्षाका लागि सुधन गुरुङ तयार छ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।