ललितपुर, ७ मङ्सिर । महानगरीय प्रहरी परिसर, ललितपुरले मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ ।
नागरिकलाई प्रहरीसम्म सहज पहुँच पु¥याउनका लागि कार्यालयको सुधार गर्न लागिएको परिसरले बताएको छ । यही वर्ष मात्रै कालेश्वर र लाँकुरीभञ्ज्याङ गरेर दुई ठाउँमा नयाँ कार्यालयको स्थापना भइसकेको छ ।
आगामी वर्ष छ वटा नयाँ ठाउँमा प्रहरी कार्यालयको स्थापना गर्ने योजना परिसरको छ । तीन ठाउँमा नयाँ प्रभाग र तीन ठाउँमा इलाका प्रहरी कार्यालयको स्थापना हुन लागेको हो । फर्सिडोल, नखिपोट र छम्पीको चुनिखेल गरेर तीन स्थानमा नयाँ प्रभागको तयारी भएको छ । सिद्धिपुर, टीकाथली र लामाटारमा इलाका प्रहरी कार्यालयको तयारी भइरहेको परिसरले जनाएको छ ।
डुकुछापको फर्सिडोलमा कार्यालय चाँडै स्थापना हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले बताउनुभयो । स्थानीयवासीसँगको सहकार्यमा बढी आवश्यक भएका ठाउँमा कार्यालय खुलाइएको उहाँले बताउनुभयो ।