नागढुङगमा सुरुङ मार्ग निर्माणको काम छिट्टै सुरु हुन्छ : मन्त्री लेखक ।

0
551

मंसिर १३ काठमाण्डौ । राजधानी भित्रिन र बाहिरिनका लागि निकै कठिन रहँदै आएको नागढुङगा क्षेत्रका लागि वैकल्पिक सडक निर्माण गर्न वैदेशिक सहायता जुटेका कारण अब त्यसको निर्माण छिट्टै शुरु हुने भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले बताएका छन्।
जापान सरकारको ऋण सहयोग जुटेको उक्त सुरुङ मार्ग मार्फत सो क्षेत्रको सवारी आवागमन सहज हुने अधिकारीहरुले बताएका छन्।

बाहिरी जिल्लाबाट राजधानी प्रवेश गर्नका लागि र राजधानीबाट बाहिर जानका लागि नागढुङगा सडकखण्डमा निकै लामो समय लाग्न थालेपछि सरकारले त्यसको विकल्पको खोजी शुरु गरेको थियो।
जापान सरकारले दिने भनेको १७ अर्ब रुपैंयाको सस्तो व्याज दरको ऋण लिन मन्त्रिपरिषदले स्वीकृति दिएपछि धादिङको सिस्नेखोलाबाट काठमाण्डौंको सीतापाइला सम्म सुरुङ्ग मार्ग निर्माण गरेर सवारी आवागमनलाई सहज बनाउने योजना साकार हुन लागेको अधिकारीहरुले बताएका छन्।
चाँडो भन्दा चाँडो सम्झौता गरेर अगाडि बढ्ने भन्ने भएको छ। जापानका राजदूत सँग यो विषयमा पटक पटक कुरा भएको छ। जापान सरकारले गर्छ र छिट्टै निर्माण अघि बढ्छ,ू भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए।
अपुग रकम नेपाल सरकारले बेहोर्ने बताइएको छ।

यस्तै सरकारले निकै महत्व दिएको पूर्व पश्चिम विद्युतिय रेलमार्गको निर्माणको गति भने अत्यन्त सुस्त रहेको छ।
सम्भाव्यता अध्ययनका क्रममा ९४५ किलोमिटर हुने अनुमान गरिएको उक्त रेलमार्गको सम्पूर्ण खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न अझै दुई वर्ष लाग्ने बताइएको छ।
परियोजना प्रतिवेदन तयार भएको ७० किलोमिटरमा निर्माणको काम गर्न बजेट अभाव भएको भनाइ रेल विभागका महानिर्देशक अन्नत आचार्यको छ।

मन्त्री लेखक भन्छन्, ूहाल ७० किलोमिटरको निर्माण गर्न पाएमा भारतले निर्माण गरिरहेको बर्दिवास सम्मको रेलसँग जोडिन्छ भनेर गत वर्ष नै बजेट मागेर पठाएका हौं। त्यो अहिले सम्म अर्थ मन्त्रालयमा थन्किएको छ।ू
सरकारले यातायात संजाललाई विस्तार गर्न काठमाण्डौंमा मेट्रो रेल निर्माणको समेत योजना अघि सारेको छ।
तर नेपालको वर्तमान आर्थिक अवस्थाले यस्ता ठूला योजनाको निर्माण कठिन रहेको भन्दै वैदेशिक सहायता जुटाउनु पर्नेमा भौतिक पूर्वाधार मन्त्रालयका पूर्व सचिव तुलसी सिटौला जोड दिन्छन्।
उनले भने, ूअहिलेको लागि पूर्व पश्चिम रेलमार्ग नेपाली पूँजीबाट मात्रै विकास हुन सक्दैन। काठमाण्डौंको मेट्रोमा पनि वैदेशिक सहायता नल्याए सम्म आउने १५ वर्ष सम्म बन्दैन। अहिलेको नेपालको पूँजीको अवस्थाले यस्ता योजनालाई सघाउने स्थिति छैन।ू
निकै विवादित काठमाण्डौं(निजगढ द्रुतमार्गका बारेमा रहेको अन्योल चिर्दै नेपाल सरकारले नै निर्माण गर्ने भनिएको छ।
तर उक्त सडकको निर्माणको काम कहिले बाट शुरु हुन्छ भन्ने स्पष्ट जवाफ चाहीं सरकारकै अधिकारीहरुसँग छैन।