उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपैयाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिए।
ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिण्डर १२.७५ पैसा वृद्धि गरेको उनले बताए।
सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच मंगलबार पाँचबुँदे सहमति भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच प्रतिसिलिण्डरमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो।
उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिण्डर ५० रुपैयाँ बढाउन माग गरेका थिए । संघले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पीडियो) बन्द गरेर आन्दोलन गरेको थियो।
उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहज रूपबाट ग्यास पाउन सकेका थिएनन् । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा अभाव हुनसक्ने आशंकामा खपत बढ्दा पनि ग्यासको अभाव देखिएको जानकारी दिए।