
प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् ।
प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ । अब प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशहरु विहिबार राष्ट्रियसभामा पेश गर्ने तयारी रहेको छ ।
काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए ।
उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोधिरहेको तथा मूल्याङ्कनमा शून्य नम्बर दिएको कुरा के हो, त्यस विषयमा सभामुखमार्फत सरकारसँग जानकारी माग गरे । उनले प्राधिकरणलाई नाफामा लगेका कार्यकारी निर्देशकसँग सोधिएको स्पष्टीकरण र कार्यसम्पादन मूल्याङ्कनका विषयमा सरकारको भनाइ आउनुपर्ने माग गर्दै सो सन्दर्भमा स्पष्ट जवाफ नआउँदासम्म प्रतिपक्षी दलहरूको तर्फबाट विरोध जारी रहने स्पष्ट गरे ।
विपक्षी दलहरूको आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरे । उनले भने, ‘आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु । साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु ।’
काठमाडौँ- पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ।
प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि ६ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो।
समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ। प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गर्न लागिएको उनले सुनाए।
ज्योतिष प्रशिक्षण लिन भने जनजाति र दलित पनि आउने गरेको समितिले जनाएको छ। कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ।
६ महिने प्रशिक्षणको १५ हजार रुपैयाँ शुल्क तोकिएको कार्यकारी निर्देशक ढुङ्गेलले बताए। यसमा थप परीक्षा शुल्क पनि लिइने जनाइएको छ।
कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि अनुमतिपत्र लिनुपर्ने उपयुक्त हुने भनी तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
सिरहा । सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामुहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई केहीबेर अघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै फरार रहेका उनलाई केही समयअघि मात्रै पक्राउ गरिएको मधेश प्रदेश प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई केहीबेरमै आधिकारिक रूपमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ । १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् ।
बिहानीपख ३ बजे मात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामुहिक बलात्कार भएको बयान दिएकी थिइन् । आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुण्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । मृत्यु हुनुअघि रिंकुले आफूमाथि बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।
काठमाडौं । अमेरिकाबाट निष्काशनमा परेका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको जिम्मा लगाएको छ । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमै नेपाल ल्याएर बुधबार बिहान छाडेको थियो ।विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईका अनुसार ८ जनालाई प्रहरीको जिम्मा लगाइएको छ।
डिपोर्ट हुनेमा एक महिला र सात जना पुरुष रहेको जनाइएको भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन्। यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् । डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा सुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर नामका रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको थप पहिचान खुलाइएको छैन ।
उनीहरुमा मानवतस्करमार्फत अमेरिका गएको हुनसक्ने प्रहरीले सोधपुछका लागि उनीहरुलाई लगेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछ गरेर उनीहरुलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ । बुधबार नै नियमित उडानमार्फत अमेरिकाबाट निष्काशनमा परेका थप नेपालीहरु आउन लागेको अध्यागमन स्रोत बताउँछ । आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने जानकारी दिए । ‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ । अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले भने ।
उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको प्रस्ट पारेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुने छैन।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेर एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अमेरिकाबाट निकालिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर आएको अमेरिकी जहाज जीआरपी–२३ आज विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएको हो ।
नेपाल, भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई पनि अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ ।
पछिल्लो समय ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाबाट अवैध आप्रवासीहरु डिर्पोट हुनेक्रमले तीव्रता पाएको छ ।
यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एरयलायन्सबाट नेपाल फर्काउने गरेको थियो । पछिल्लो दुई महिनामा २९ जना नेपालीलाई अमेरिकाले डीपोर्ट गरेको छ । ती नेपालीहरू विभिन्न एयरलायन्समार्फत नेपाल आएका थिए ।
अमेरिकाबाट निष्कासित भएका १० नेपाली आज अमेरिकी चार्टर विमानमार्फत काठमाडौं आइपुग्दै छन्। १० नेपालीलाई लिएर अमेरिकी चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अध्यागमन विभागले जनाएको छ।
नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएकोे अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक नेपाली फर्काइएका थिए ।
माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउने क्रम जारी छ। तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली विनाभिसा अमेरिका छिरेको अनुमान छ । बुधबार काठमाडौं आउने अमेरिकी जहाज बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्किने विमानस्थल कार्यालयले जनाएको छ।
उद्योगीको कमिसन बढाएको मूल्यबाट उपभोक्तालाई भार नपर्ने नेपाल आयल निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा ग्यासको उपभोक्ता मूल्य एक हजार ९१० रुपैयाँ कायम रहने र उद्योगीलाई बढाएको मूल्य ग्यासमा भएको घाटामा जोडिने जानकारी दिए।
ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिण्डर १२.७५ पैसा वृद्धि गरेको उनले बताए।
सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच मंगलबार पाँचबुँदे सहमति भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच प्रतिसिलिण्डरमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भएको हो।
उद्योगीले चाहिँ लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिण्डर ५० रुपैयाँ बढाउन माग गरेका थिए । संघले ओभरहेड र नाफा रकम वृद्धिलगायतका १९ बुँदे माग राखेर गत आइतबारदेखि भारतबाट ग्यास ल्याउने खरिद आदेश (पीडियो) बन्द गरेर आन्दोलन गरेको थियो।
उद्योगीले घोषणा गरेका आन्दोलनले बजारमा उपभोक्ताले सहज रूपबाट ग्यास पाउन सकेका थिएनन् । ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा अभाव हुनसक्ने आशंकामा खपत बढ्दा पनि ग्यासको अभाव देखिएको जानकारी दिए।
अध्यादेशमार्फत् नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्न माग गर्दै परेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सर्वोच्च अदालतले चार वर्षअघिदेखि पन्छाउँदै आएको यस सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ ३० माघदेखि सुरु गरेको थियो । सो दिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि अर्को सुनुवाइको मिति २१ फागुन २०८१ मा तोकिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संवैधानिक परिषद्ले विभिन्न १३ संवैधानिक निकायहरुमा रिक्त ६१ पदहरुमध्ये ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।
नियुक्तिको पहिलो सिफारिस भएलगत्तै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि सिफारिस भएकाहरुको संसदीय सुनुवाइ हुन सकेको थिएन । सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा नपर्ने भन्ने संसदीय नियमावलीको आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ २१ मा ३२ र २०७८ असार १० मा पछिल्लो सिफारिसमा परेका २० गरी जम्मा ५२ जनालाई नियुक्त गरेकी थिइन् ।
त्यसबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा पदाधिकारीहरू नियुक्त भएका थिए । उनीहरूको नियुक्ति कानुनसम्मत् नभएकाले बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल लगायतले १५ वटा रिट निवेदन दर्ता गरेका थिए ।
ती सबैलाई एकै ठाउँमा राखेर रिटमा अन्तिम सुनुवाइ ३० माघको दिनदेखि सुरु भएको थियो । पहिलो दिन रिट निवेदक अर्याल र वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए । आज पनि डा. ज्ञवालीसहित वरिष्ठ अधिवक्ता शम्भु थापा, डा. भीमार्जुन आचार्य, रामनारायण बिडारी, श्रीहरि अर्याल, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलगायतले बहस गर्ने तयारी छ ।




