गुल्मी, १६ चैत्र । गुल्मी दर्लामचौरका एक व्यक्ति विपन्नताका कारण श्रीमतिको उपचार गर्न नसकेर घरबाट फरार भएका छन् । ईस्मा गाउँपालिका अन्तर्गत साविकको दर्लामचौर ८ सेनखण्ड निवासी अन्दाजी ४० वर्षिय मंगल नेपाली श्रीमति पार्वती नेपालीको उपचार गर्न नसकेर फरार भएको आफन्तले बताएका छन् ।
मुटु सम्वन्धी रोगले ग्रस्त भएकी श्रीमति पार्वतीलाई जिल्ला अस्पतालले पाल्पा रिफर गरेको थियो । तर उनका श्रीमानले उपचार गर्ने खर्च नभएका कारण श्रीमतिलाई घर फर्काएका थिए । घरमा विरामी श्रीमतिको हेरचाह गर्नुपर्ने ठाउँमा १५ वर्षिय र ११ वर्षिय दुई छोरालाईसंगै लगेर नेपाली चैत ९ गते फरार भएको र त्यसको दुई दिनपछि चैत्र १३ गते श्रीमतिको मृत्यु भएको थियो । स्थानीय समाजसेवी प्रेम भुसालले मृत्यु भएको पनि पाँच दिन भई सक्दा पनि काजकिरीयाको काम हुन नसकेको जानकारी दिनुभयो ।
फरार उनका श्रीमानलाई तम्घास सम्म खोजतलास गर्न पनि गइएको थियो तर उनी कतै पनि फेला परेनन् । घरमा एक्ली पाँच वर्षकी छोरी मात्रै भएकोले गाउँवासीले पालेर राखेका उहाँले बताउनुभयो ।उनको काज किरिया गर्ने कोही नभएपछि रोकिएको छ । उनको उपचारका लागि आफुहरुले गाउँमा चन्दा उठाएको तर त्यो रकमले नपुगेपछि ३० वर्षको उमेरमा उपचार पाउन नसकेर पार्वतीले अकालमा ज्यान गुमाउनु परेको भुसालको भनाइ रहेको छ ।