भक्तपुरमा पानी निकाल्न खन्दा ग्यास निस्कियो, आगो निभाउन हम्मेहम्मे

0
355

भक्तपुर, ६ बैशाख । भक्तपुरको सूर्य्विनायक नगरपालिका– १ सिरुटारमा खानेपानीका लागि गरिएको डीप बोरिङबाट ग्यास निस्किएर आगलागी भएको छ। डीप बोरिङका लागि पाइप जोड्न वेल्डिङ गर्ने क्रममा एक्कासी आगलागी भएको हो। उक्त आगो नियन्त्रणमा लिन भक्तपुर, काठमाडौं र ललितपुरको दमकलसँगै सुरक्षा निकाय र सर्वसाधारणलाई घन्टौं लागेको थियो। साविक सिरुटार गाविसका करिब आठ सय घरधुरीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न स्थानीय चापाखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत उक्त डीप बोरिङ गरिएको थियो। डीप बोरिङ सोमबारदेखि सुरु गरिएको थियो। मंगलबार पनि बिहानैदेखि डीप बोरिङको काम थालिएको समितिका सचिव सुरज मिश्रले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान एक सय ४० फिट गहिरो खनेपछि अर्को पाइप जोड्न वेल्डिङ गर्ने क्रममा निस्केको झिल्को आगो लागेको थियो। आगलागीले डीप बोरिङ गर्न प्रयोग गरिएको मेसिनसहितको गाडीको हाइड्रोलिक उपकरण तथा त्यसका तारहरु जलेर पूर्ण नष्ट भएको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार स्क्याभेटरमार्फत डीप बोरिङ गर्ने गाडी निकालेर डीप बोरिङ गर्न प्रयोग गरिएको पाइप माटोले पुरेर आगो नियन्त्रणमा लिइएको छ। आगो नियन्त्रणमा आए पनि ग्यास चुहिन नरोकिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए। ‘ग्यास चुहिन नियन्त्रणमा नआएकोले काँडेतारले बेरेर उक्त क्षेत्र सुरक्षित राखिएको छ’, प्रनाउ ओलियाले भने, ‘प्राकृतिक ग्यास भएकाले के हुन्छ भन्न सकिने अवस्था छैन। स्थानीय वासिन्दा डरत्रासमा छन्।’ डीप बोरिङ गर्न पाइप जोड्नमात्रै सिद्धिएकाले पाइप जमिन सतहभन्दा करिब १६ फिट माथि रहेको छ।

उक्त पाइपलाई बालुवा र माटो भरेको बोरासँग माटोले छोपिएको छ। साथै सुरक्षाकर्मी तैनाथ गरिएको छ। स्थानीयका अनुसार यसअघि गरिएका तीनवटा डीप बोरिङबाट भने पानी निस्किएको थियो। ती तीनवटै डीप बोरिङ मंगलबार ग्यास निस्किएको क्षेत्रको करिब पाँच सय मिटरभित्र छन्। खानेपानीको लागि गरिएको बोरिङबाट पानीको सट्टा ग्यास निस्किएपछि खानेपानी उपभोक्ता समितिलाई भने समस्यामा पारेको छ। गएको २०७२ सालको भूकम्पले ललितपुरको लाकुरी भञ्ज्याङस्थित मूल सुकेपछि खानेपानीको विकल्पको लागि चापाखर्क उपभोक्ता समितिले उक्त डीप बोरिङको आयोजना हात पारेको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिफारिसमा डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय भक्तपुरले टेन्डरमार्फत गराइएको उक्त डीप बोरिङबाट पानी नपाउने भएपछि समिति समस्यामा परेको सचिव मिश्र बताउँछन् । ‘बल्लतल्ल पाएको ठाउँमा गरिएको डीप बोरिङबाट ग्यास निस्कियो’, उनले भने, ‘अब कहाँ डीप बोरिङ गर्ने समस्या उत्पन्न भएको छ।’ उनका अनुसार करिब एकसय ६० मिटरसम्म डीप बोरिङ गर्ने लक्ष्य थियो । तर एकसय ४० फिटमै ग्यास निस्किएको छ। उक्त डीप बोरिङबाट ग्यास निस्किएपछि मंगलबार नै डिभिजन खानेपानीका प्राविधिकहरुले प्रारम्भिक अध्ययन गरेको छ। कार्यालयले भूगर्भ तथा खानी विभागका प्राविधिक बोलाएर यथार्थ अध्ययन गरिने बताएको छ । भूगर्भको प्राविधिकहरुको टोली बुधबार सिरुटार पुग्ने कार्यालयले जनाएको छ ।