२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

क्रान्ति अझै सकिएको छैन : प्रचण्ड

बागलुङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको बताएका छन् । बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को क्रममा बागलुङको ताराखोला पुगेका प्रचण्डले ‘जनयुद्ध’ का सहिदलाई ‘राष्ट्रिय सहिद’ घोषणा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले आफ्नो प्रधानमन्त्रीकालमा त्यो निर्णय गरेको बताए । त्यसबाहेक जनयुद्धका धेरै उपलब्धि संस्थागत गर्ने काममा पनि माओवादी नेतृत्वको सरकारले नै काम गरेको बताए ।

प्रचण्डले ताराखोला गाउँपालिका–२ को अर्गलमा निर्मित सहिद तथा बेपत्ता पार्कको उद्घाटन गरेका छन् । जनयुद्धका सहिद र बेपत्ता परिवारलाई सम्मान समेत गरे । उनले सहिद परिवारको जगमा नै नेपालको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सहिदलाई बिर्से जस्तो भए पनि इतिहासले फेरि खोज गर्ने बताए । ‘क्रान्ति सकिएको छैन, त्यसैले इतिहासमा सहिदका चिहान खनेर कंकाल निकालेर पनि सम्मान गर्ने दिन आउँछ,’ उनले भने, ‘धैर्य गरेर सहिदका सपना पूरा गर्न लाग्नुपर्छ ।’

जनयुद्धको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्दै अब राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिमा पनि माओवादीले नै अगुवाई गर्ने प्रचण्डले दाबी गरे । काम गर्दागर्दै बहुमतको दम्भ देखाएर कांग्रेस एमालेले माओवादीको सरकार ढालेको आरोप पनि लगाए । ‘संसारमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाएको कतै छैन,’ उनले भने, ‘सुशासन दिन खोजेपछि भ्रष्टहरूले सरकार ढलाए ।’

उनले जनयुद्धलाई हिंसा र आतंक थियो भन्नेहरूले जनयुद्धको गतिमा काम गर्न नसक्ने समेत ठोकुवा गरे । ‘जनयुद्ध युगान्तकारी परिवर्तनको घटना थियो, सामाजिक समावेशीकरणको लागि महिला, दलित, उत्पीडितले गरेको विद्रोह थियो,’ उनले भने, ‘राजनीतिक रूपमा प्रशिक्षित र सुझबुझपूर्ण आन्दोलन भएकाले देशलाई परिवर्तन गर्न सफल भयौं ।’ उनले जाली र फटाहाहरूले मात्र जनयुद्धको विरोध गरेको टिप्पणी गरे ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।