काठमाडौ, २४ जेठ । साउदी अरब लगायत विभिन्न मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडे पनि कतारमा कार्यरत आप्रपासी कामदारलाई कुनै अप्ठ्यारो नपर्ने कतार सरकारले आश्वस्त पारेको छ ।
नेपाल र भारत लगायत विभिन्न मुलुकका राजदूतहरुले कतारी विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेर यहाँ कार्यरत आ–आफ्नो देशका नागरिकको सुरक्षाका विषयमा चासो राखेका छन् ।
यस क्रममा कतारका सरकारी अधिकारीहरुले यहाँ कार्यरत नेपाल र भारतलगायत विभिन्न देशका नागरिकहरुले आत्तिनु नपर्ने भन्दै आश्वस्त गराएको कतारस्थित नेपाली राजदूत रमेशप्रसाद कोइरालाले जानकारी दिए ।
कतारमा हालै देखिएको समस्याबाट यहाँ कार्यरत नेपाली लगायत आप्रवासी कामदारहरुलाई कुुनै समस्या नपर्ने कतार सरकारलाई उधृत गर्दै राजदूत कोइरालाले बताए ।
कतार सरकारले आफ्नो देशमा आवश्यक पर्ने खाद्यान्न लगायतका अति आवश्यकीय सामाग्रीहरुको आपूर्ति जलमार्ग र एयरलिफ्ट मार्फत बढाइसकेको जानकारी गराएको कोइरालाले बताए ।
राजदूत कोइरालाले मंगलबार दूताबासमा नेपाली समुदायसँग यसबारे छलफल गरेका छन् । नेपाली समुदायका अगुुवाहरुसँगको भेटमा कोइरालाले कतार सरकारका प्रतिनिधिहरुसँग आफूले नेपालीहरुको समस्याबारे कुराकानी गरेको जानकारी दिए ।
नेपाल, भारतलगायत विभिन्न देशका राजदूतहरुले कतारका सरकारी अधिकारीसँग भेट गरेको उनले जानकारी दिए ।
साउदीसँग सम्पर्क
राजदूतसँगको भेटमा नेपाली प्रतिनिधिहरुले साउदी र कतारको सीमानामा सवारी चालक नेपालीहरु अलपत्र परेको जानकारी दूताबासलाई गराएका थिए ।
यसबारे साउदीतिर रहेका नेपालीलाई साउदीस्थित नेपाली दूताबासले उद्धार गर्ने कोइरालाले बताए । कतारतर्फ अलपत्र परेकालाई कतार दूतावासले उद्धार गर्न पहल गर्ने उनले आश्वासन दिए ।
हाल सीमाना रहेका नेपालीको उद्धारका लागि दुुबै देशका राजदुुतवीच सल्लाह भैसकेको जानकारी पनि कोइरालाले दिए ।
कतारको स्थलमार्ग भएर साउदी अरब, युुएई, बहराइन र इजिप्ट जान समस्या भए पनि सीधै नेपालबाट कतार आउन भने कुुनै समस्या नरहेको राजदुत कोइरालाले बताए ।
उनले अबर समस्याका कारण साउदी र कतारमा कार्यरत नेपालीहरुमा कुनै समस्या नपर्ने बताए ।
सोमबार मात्रै साउदी अरब लगायत ७ वटा देशहरुले बतारमाथिको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि खाडी मुलुकमा संकट देखा परेको छ ।