काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन ।
आज (बुधबार) सिंहदरबारमा मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताएका हुन्। उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखेका छन् । उनले दलहरूबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने बताए।
प्रवक्ता गुरुङले प्रेस काउन्सिललाई समावेशी बनाउँदै लैजान सरकार प्रतिबद्ध रहेको भन्दै अहिले विभिन्न कारणले समावेशी बनाउन नसकिएको उल्लेख गरेका छन्। त्यस्तै जेठ १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयका बारेमा जानकारी दिँदै प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए।
यस्तै एक जना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनले बताए। जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको उनले बताए। त्यस्तै असार ३ गते अस्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।









