२ दिन पछि धकेलियो दोस्रो चरणको मनोनयन

0
373

काठमाडौं, २ असार । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन असार ४ गतेलाई तोकेको छ । यसअघि २ गते शुक्रबार (आज) लाई तोकिएको थियो । सरकारले प्रदेश २ को चुनाव तेस्रो चरणमा गर्ने निर्णयसँगै प्रदेश नम्बर १, ५ र ७ को मनोनयनको मिति सार्न आग्रह गरेलगत्तै बिहीबार आयोगले निर्णय लिएको हो ।

आयोगले तयारी पूरा गरिसकेका बेला उम्मेदवारी मनोनयनको एक दिनअघि एउटा प्रदेशको चुनाव र बाँकी स्थानको मनोनयन सार्ने निर्णय गरिएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आग्रहसहितको मन्त्रिपरिषदको निर्णय प्राप्त भएपछि आयोगले प्रदेश २ को हाल घोषित निर्वाचन कार्यक्रम स्थगित र बाँकी प्रदेशका लागि तोकिएको कार्यक्रममा संशोधन गरिएको बताए । संशोधित कार्यक्रमले उम्मेदवारले प्रचार गर्ने समयमा कटौती भएको छ । ‘प्रचार कार्यक्रमलाई धेरै असर नगरोस् भनेरै यसअघि तोकिएको ४ दिनको निर्वाचन कार्यक्रमलाई ३ दिनमा सीमित गरिएको छ,’ उनले भने, ‘६ गते उम्मेदवारले निर्वाचन चिह्न पाएपछि प्रचारमा जुट्नेछन्, पहिला चिह्न वितरण ५ गतेलाई तोकिएको थियो ।’

सरकारले राजपासँग सहमति जुटाउने नाममा चौथोपटक स्थानीय तह निर्वाचन मिति हेरफेर गरेको हो । देशैभर एकै चरणमा गराउने गरी वैशाख ३१ मा घोषित निर्वाचनलाई जेठ ३१ मा समेत गर्ने गरी दुई चरणमा गर्ने निर्णय गरिएको थियो । पछि दोस्रो चरणलाई असार ९ हुँदै असार १४ गते र्पुयाइयो । अहिले फेरि एउटा प्रदेशको निर्वाचन ३ महिनापछि तेस्रो चरणमा सारिएको छ ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएर २८२ स्थानमा जनप्रतिनिधि बहाल भइसकेका छन् । भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यातिएको घटनालाई लिएर वडा नम्बर १९ मा पुनस् मतदान गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा परेकाले त्यहाँको परिणाम आउन नसकेको हो ।

दोस्रो चरणमा ३३४ स्थानीय तह
असार १४ मा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुने भएको छ । प्रदेश नम्बर १ मा एक महानगर, दुई महानगर, ४६ नगरपालिका र ८८ गाउँपालिकासहित १ सय ३७ स्थानीय तह छन् । त्यहाँ २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् । प्रदेश नम्बर ५ मा चार उपमहानगर, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह छन् । त्यहाँ २४ लाख ५४ हजार ४ सय ८८ मतदाता छन् । प्रदेश नम्बर ७ मा एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित कुल ८८ स्थानीय तह छन् । त्यहाँ १३ लाख ३ हजार ७ सय १४ मतदाता छन् । प्रदेश नम्बर १, ५ र ७ मा ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् ।