२०८२ असार २८ गते शनिबार
२०८२ असार २८ गते शनिबार

काठमाडौं । अमेरिकाले निष्काशन गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन्। आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन्। अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याई दिएको हो ।

‘अमेरिकाबाट निष्काशित ३७ नेपाली काठमाडौं आइपुगेका छन्’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय (आईसीई)को चार्टर्ड विमानमा उनीहरू काठमाडौं आएको जनाएको छ।

‘अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू उक्त उडानमा रहेका थिए’, अमेरिकी दूतावासले जनाएको छ। यति ठूलो संख्यामा नेपालीलाई एकै पटक निष्काशित गरी अमेरिकाले पठाएको यो पहिलो पटक हो । अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली निष्काशित गरिसकेको छ। आइतबार आइपुगेका ३७ जना समेत जोड्दा अमेरिकाबाट निष्काशित भएर आउनेको संख्या १७७ पुगेको छ।

ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई निष्काशित गरेको हो। अमेरिकी अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । प्रायः अवैध बाटोबाट अमेरिका गएकाहरू निष्काशनमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ। खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर) का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ।

अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ। ट्रम्प प्रशासनले निष्काशित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो। उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो। सन् २०२४ मा अमेरिकाले ३५ नेपालीलाई निष्काशन गरेको थियो।

 

काठमाडौं- टेलिभिजन पत्रकार प्रकाश सुवेदीले सांसद डा. सुनिल कुमार शर्माको प्रशंसा गर्दै “यस्ता दस जना नेता भए मात्र देश बन्न सक्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

टेलिभिजन कार्यक्रम “द प्रकाश सुवेदी शो” का लागि डा. शर्मासँग विशेष अन्तर्वार्ता गरेपछि सुवेदीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै लेखेका छन् —

“बेधडक बोल्छन्, तथ्यका आधारमा बोल्छन्, खरो र दह्रो बोल्छन्। उनी हुन् माननीय डा. सुनिल कुमार शर्मा। आज डाक्टर सुनिलसँग कुरा गर्दा लाग्यो, यस्ता नेता अरु दस जना भए भने बल्ल देश बन्ने सम्भावना देखिन्छ।”

सुवेदीले शर्मासँगको अन्तर्वार्तापछि खिचिएको फोटो पनि फेसबुकमार्फत साझा गरेका छन्।

डा. शर्मासँगको विस्तृत कुराकानी समेटिएको अन्तर्वार्ता “द प्रकाश सुवेदी शो” मा आज (आइतबार) राति ९ बजे प्रशारण हुने भएको छ। कार्यक्रममा समसामयिक राजनीति, नीति निर्माण, र देशको विकास सम्बन्धी विभिन्न विषयमा डा. शर्माको धारणा प्रस्तुत गरिएको बताइएको छ।

डा. सुनिल कुमार शर्मा तलब नलिने एक मात्र सांसद हुन् । उनले देशभर निशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य चौकीलाई आवश्यक सामाग्री हस्तान्तरण, एम्बुलेन्स सहयोग गर्दै आएका छन् । साथै शर्माले गरिव, दलित विपन्न परिवारका एक हजार भन्दा बढी व्यक्तिलाई डाक्टर, नर्स बन्नका लागि अध्ययन अध्यापनमा आर्थिक सहयोग गरेका छन् ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्यालसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल, प्राविधिक प्रमुख प्रतिभा श्रेष्ठलाई समेत प्रतिवादी बनाएर आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो कायम गरिएको छ। यस्तै राजेन्द्र श्रेष्ठ, धविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमूल प्रधान, राजीवकुमार केसी, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, मुक्ति प्रसाद अर्याल, शंकरकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेस श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ। त्यस्तै, एक चिनियाँ कम्पनी, कम्पनीका सिनियर डाइरेक्टर लङ योङ, म्यानेजर हुवाङ ओईलाई पनि प्रतिवादी कायम गरेर मुद्दा चलाइएको छ।

यस्तो छ अभियोग पत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलो पटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनर्निर्माण गरिएको हो।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो।

अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए। उनले भने, ‘लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्ने छ। यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ।’

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो। डा. जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’ स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ।

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका निजामती कर्मचारीहरुले आजदेखि कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन शुरू गरेका छन्।

यस आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’ ले गरिरहेको छ।

उक्त समितिमा एमाले निकट नेपाल कर्मचारी संगठन, कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च सहभागी छन्।

जेठ २० गते अम्बादत्त भट्टको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले संघीय निजामती सेवा ऐनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार आजदेखि अर्को निर्णय नभएसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरिएको छ।

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

आज (आइतबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सहकर्मीहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा छ । सिनियर स्टाफ, हाकिम वा गुरुजनसँगको सम्बन्धमा नकारात्मकता देखिने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सोच्ने सामर्थ्यमा कमी भएको आभास हुनेछ, एकान्तमा मात्र मन रमाउने दिन हो, तर आज सामाजिकता र सहकार्यमा ध्यान दिनु ठीक हुन्छ । सांसारिक सुखप्रतिको झुकाव बढ्नेछ । जुनियर स्टाफको अभावमा कारोवार प्रभावित बन्नसक्छ, तर घरका कनिष्ठ नातेदारको सहयोग लिन सकिने छ । टाढा रहेका छोराछोरीमार्फत राम्रो समाचार आउने तथा सुख(सन्तोष मिल्ने राम्रो दिन छ । आफूले चिताएका हाँके(ताकेका काम पनि सम्पन्न हुने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययन-अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । कहिलेकाँही असुरक्षाको हीनभावना विकसित हुनसक्छ । कामको बोझ बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । दौडधूप गर्नुपर्ने काम, ढुवानी(यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवहारिक चिन्ता बढ्ने दिन हो, जीवनसाथीसँग कतै घुमघाममा जाने वा किनमेलमा निस्कने योजना बनाउनुहोस्, यसबाट तपाईंको निरस जीवन स्वस्थ बन्नसक्छ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । गरेको मिहिनेत र भएका प्रयासको राम्रो परिणाम प्राप्त हुने राम्रो दिन छ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।