प्रदेश १, ५ र ७ मा आज उम्मेदवारी : ६४ लाख बढी मतदाताले १५ हजार ३८ प्रतिनिधि चुन्ने

0
626

काठमाडौं, ४ असार । दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको भन्दै ती प्रदेशमा बिहान ८ देखि दिउँसो ४ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको जनाएको छ । आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेपछि सरकारले २ नम्बर प्रदेशमा तेस्रो चरणमा असोज २ गते मतदान गर्ने निर्णय गरेकाले आयोगले उक्त प्रदेशको निर्वाचन कार्यक्रम स्थगित गरेको छ । यद्यपि, ५ नम्बर प्रदेशका केही जिल्लामा मधेसकेन्द्रित दलको प्रभाव रहेका कारण मनोनयन दर्तालाई चुनौतीका रूपमा लिइएको छ ।

पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गतेलाई दोस्रो चरण निर्वाचनको मिति तय गरेअनुसार आइतबार मनोनयनको कार्यक्रम राखिएको हो ।

आयोगका अनुसार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदै छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् भने १५ हजार ३८ प्रतिनिधि निर्वा्चित हुनेछन् । निर्वाचन आयोगका अनुसार ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएका छन् । सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।