देउवा सरकारका ४० दिन, के भयो उपलब्धि ?

0
651

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा पनि नौ सदस्यमा सीमित मन्त्रिमण्डल बिस्तार नहुँदा पार्टीभित्र कतै रूवावासी, कत्तै चेतावनी त कतै दुखेसो गर्न थालिएको छ ।

माओवादीलगायतका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको कांग्रेसको भागमा जम्मा ११ मन्त्रालय छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

गत जेठ २३ गते प्रधानमन्त्री बनेका कांग्रेस सभपाति देउवाले एक, दुई दिन भन्दै मन्त्रिमण्डल बिस्तार कार्य एक महिनापछि धकेलेपछि मन्त्रिका आकांक्षीले प्रधानमन्त्री देउवालाई कार्यालय र निवासमा घेर्न थालेका छन् । दुई सय ७ जना सांसद रहेको कांग्रेसमा एक सय बढी आकांक्षी छन् भने तीन दर्जन बढी सांसदले मन्त्री हुन मरिहत्ते गर्न थालेका छन् ।

प्रधानमन्त्री देउवासँग एक मिनेट मात्र भेट गर्न पाउँ भन्दै प्रधानमन्त्रीका अघोषित स्वकिय सचिव भानु देउवा (नियुक्ति हालसम्म नपाएका)सँग अनुनय विनय गर्ने सांसदको लाईन बालुवाटार र प्रधानमन्त्री निवासमा लाग्ने गरेको छ ।

आफूसँग भेट गर्न आउने अधिकांशलाई प्रधानमन्त्री देउवालले सल्लाह गरूँला भन्दै जवाफ दिन थालेका छन् । तर कतिपयलाई भने तयार हुनु है भनेर आश्वस्त पनि तुल्याएका छन् । तर रूकुमकी मिठु मल्ल, काठमाडौंकी अम्विका बस्नेतले प्रधानमन्त्री देउवासँग रूवावासी गरेका छन् ।

प्रधानमन्त्री देउवाले उनीहरूलाई अन्याय गर्दिन भनेर जवाफ दिएका थिए । यता महालक्ष्मी उपाध्याय डिना, तेह्रथुमकी सीता गुरूङ लगायतले आफूलाई जसरी पनि मन्त्री बनाई दिन भन्दै प्रधानमन्त्री देउवासँग लाडिएको वालुवाटार स्रोतले वतायो । देउवालाई प्रत्यक्ष निर्वाचित भन्दा मनोनित सांसदले मन्त्री हुनका लागि मरिहत्ते गरेका छन् ।

कतिपय समानुपातिक महिला सांसद र तराईका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आफूलाई मन्त्रि नबनाए दुई नम्बर प्रदेशमा कांग्रेस कमजोर हुने चेतावनी पनि दिन थालेका छन् । देउवा गुटभित्र मात्र होइन, नेता रामचन्द्र पौडेल गुटभित्र पनि आफूहरूलाई मन्त्री नबनाईए पार्टी र सरकार नै कमजोर हुने भन्दै धम्कीको भाषा प्रयोग गरिरहेका छन्।