ट्रम्पका छोरासहित २ जनासँग बयान लिने सिनेटको निर्णय ।

0
275
साउन ५ काठमाण्डौं बिबिसी । गत वर्षको राष्ट्रपतीय चुनावमा भएका ठानिएका रुसी हस्तक्षेपबारे छानबिन गरिरहेका सिनेटका समितिहरुले राष्ट्रपति ट्रम्पका जेठा छोरा र अन्य दुईजनालाई बयान दिन बोलाएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा, उनका ज्वाईँ र पूर्व चुनाव प्रचार व्यवस्थापकले राष्ट्रपतीय चुनावका बेला रुसी अधिकारीहरुसँग सम्पर्क बढाएको आरोपबारे सिनेटका समितिहरुमा बयान दिने भएका छन्।
गत वर्ष भएको राष्ट्रपतीय चुनावका बेला ट्रम्प निकट व्यक्तिले विदेशी शक्तिसँग किन साठगाँठ गरे भन्नेबारे प्रश्नहरु उठिरहेको बेला उनीहरुलाई बयान दिन डाकिएको हो।
डोनल्ड ट्रम्प जुनिअर र पाउल मानाफोर्ट सिनेटको न्याय समितिमा उपस्थित हुने भएका छन्।
जारड कुश्नरलाई सिनेटको गुप्तचर समितिको बन्द सत्रमा जवाफ दिन बोलाइएको छ।
तीनै जनाविरुद्ध चुनावका बेला रुसी अधिकारीहरुसँग सम्पर्क बढाएको आरोप लगाइएको छ।
यसै महिनाको शुरुमा डोनल्ड ट्रम्प जुनिअरले डिमोक्रेटिक पार्टीको उम्मेदवार हिलरी क्लीन्टनको चुनावी अभियानलाई आघात पुर्‍याउन सक्ने ठानिएका रुसबाट प्राप्त इमेलहरु सार्वजनिक गरिदिएका थिए।
ती इमेल एक रुसी वकिलले पठाएकी थिइन् जोसँग पछि ट्रम्प जुनिअरले न्यूयोर्कमा भेट गरेका विवरण सार्वजनिक भएका थिए।
अहिले रुसी इमेल र त्यसपछिको भेटले चुनाव प्रचार सम्बन्धी कानून मिचिएको र ट्रम्प पक्षले चुनावका बेला विदेशी शक्तिसँग मिलेमतो गरेको भन्ने आरोपलाई लिएर बहसहरु तीव्र भइरहेका छन्।