प्रधानमन्त्री देउवाले भदौ पहिलो साता भारतको भ्रमण गर्ने, पञ्चेश्वर परियोजना निर्माण पहिलो प्राथमिकता ।

0
498
साउन १७ काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा भदौ पहिलो साता भारत भ्रमणमा जाने भएका छन्। देउवाले आफ्नो भारत भ्रमणका क्रममा बिगतमा प्रधानमन्त्रीको हैसियतमा भारतको भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयनको बिषय प्राथमिकतामा राख्ने कार्ययोजना बनेको छ ।
पहिलो पटक प्रधानमन्त्री बनेर भारत पुगेका देउवाले २०५२ माघ २९ गते पञ्चेश्वर परियोजना बनाउने गरी भारतसँग महाकाली सन्धीमा हस्ताक्षर गरेका थिए। तर उक्त सम्झौता आज सम्म पनि अगाडी बढेको छैन । देउवाको बुझार्यमा भारतसंग सम्झौता मात्रै गर्नु भन्दा बिगतमा भएका सम्झौताको अवस्था बुझ्नु नेपालको हितमा हुने छ ।
महाकाली सन्धीको विवादलाई लिएर एमाले पार्टी नै फुट्यो। एमाले पार्टीभित्र महाकाली सन्धीको बलियो समर्थका रूपमा उदाएका केपी शर्मा ओलीको भारतसँग गहिरो सम्बन्ध त्यही बेला स्थापित भएको थियो।
आन्तरिक राजनीति अनुकुल भएपनि पञ्चेश्वर परियोजनामा देउवाको आसन्न भारत भमणकै क्रममा भने खासै प्रगति हुनेछैन। किनभने यो परियोजना अघि बढाउनका लागि प्राविधिक विषयहरूलाई लिएर दुई देशका कर्मचारीबीच छलफल जारी छन्। ती छलफलका सहमति वा असहमति राजनीतिज्ञको तहमा पुग्ने बेला भएको छैन। छलफलले एउटा आकार ग्रहण नगरी राजनीतिज्ञले निर्णय गर्नुपर्ने विषयको निर्क्यौल हुन्न।
सन् २००८ मा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा पञ्चेश्वर अगाडि बढाउन प्राधिकरण गठन गर्ने निर्णय भएको थियो तर त्यसको पनि कार्यविधि पारित नहुँदा काम अगाडि बढेन।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि पञ्चेश्वर परियोजनाको कामले फेरि एकपटक गति लिएको हो। मोदीको त्यही भ्रमणमा पञ्चेश्वर विकास प्राधिकरणको कार्यविधि टर्म्स अफ रिफरेन्स पारित भएको थियो ।
कार्यविधि पारित भएसँगै दुई देशका अधिकारी सम्मिलित पञ्चेश्वर विकास प्राधिकरण गठन भयो तर काम अगाडी बढ्न सकेको छैन ।