बाग्लुङका पहिरो पिडीतले पाए नाम मात्रैको राहत ।

0
524
बागलुङ, २४ साउन । गत शुक्रबार घरमाथिबाट खसेको पहिरामा परी मुत्यु भएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले राहत रकम प्रदान गरेको छ ।
मृतकका परिवारलाई जनही रु एक लाख र घर क्षति भएकालाई रु १० हजारका दरले राहत बाँडिएको हो । निसीखोला गाउँपालिका– २ बाहुनगाउँका मृतक ६८ वर्षीय मणिमान छन्त्याल, उहाँकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीय विन्दु र १८ वर्षीया छोरी गीताको परिवारलाई रु चार लाख प्रदान गरिएको छ । मृतक चार जना एकै परिवारका थिए ।
यस्तै सोही गाउँपालिका– १ स्थित हुल्दीमा पहिरामा ज्यान गुमाउने ७५ वर्षीया खगिसरा सिंजालीको परिवारलाई पनि रु एक लाख प्रदान गरिएको छ । घर क्षति भएबापत उहाँको परिवारलाई रु १० हजारसमेत दिइएको छ ।
प्रहरी मुचुल्काका आधारमा गाउँपालिका– २ का भूपाल छन्त्याल र प्रेम विक तथा ३ का भटे कामी र जुना कामीको परिवारलाई रु १०–१० हजारका दरले राहत हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, बुर्तिवाङस्थित एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापालगायतको उपस्थितिमा राहत बाँडिएको थियो । सोही दिन आएको पहिरामा परी ज्यान गुमाउने जिल्लाको ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको परिवारलाई पनि राहत उपलब्ध गराइएको छ । पहिरामा परी निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा गरी एकै दिन छ जनाको ज्यान गएको थियो ।