इम्बोसड नं प्लेट आजदेखि शुरु , दुर्घटना भईहाले घाइतेको उद्धार तुरुन्त ।

0
390

५ भदौ, काठमाडौं । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ । मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ । यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्ष्भित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नं प्लेटलाई अब पाँच प्रकारको नं प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनमा इम्बोस्ड नं प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुने जनाईएको छ । विभागले यो नं प्लेट राखेवापत राजश्ववापत सेवाग्राहीबाट ठूला सवारीका लागि रु तीन हजार ६००, चारपांग्रे सवारीका लागि रु तीन हजार २००, ट्याम्पो, रिक्सालगायत तीनपांग्रे सवारीका लागि रु दुई हजार ९०० र मोटरसाइकलका लागि रु दुई हजार ५०० दस्तुर निर्धारण गरेको छ । यसको प्रयोगपछि दुर्घटना भएमा छिटो छरितो घाइतेको उद्धार हुन सक्ने भएकाले यसलाई यस क्षेत्रको ठूलो उपलब्धि मानिएको छ ।