काठमाडौं । जेनजी प्रदर्शनका कारण भन्सार नाकामा भएको तोडफोड र हिंसाले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ। उपभोक्ताहरूले ग्यास अभावको गुनासो गरिरहँदा सरकार र आपूर्ति निकायहरूबीच फरक धारणा देखिएको छ।
गत सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भारतबाट ग्यास आयात लगभग ठप्प भएको एलपी ग्यास उद्योग संघ ले जनाएको छ। अध्यक्ष शिव घिमिरे का अनुसार, भारतीय चालकहरू नेपाल प्रवेश गर्न हिच्किचाएका छन् भने भन्सारको क्षतिले ग्यास आयात प्रक्रियामा गम्भीर अवरोध पुगेको छ। उनले सेनाले एलपी ग्यासलाई अति आवश्यक वस्तु घोषणा गरे पनि यसको आवागमन सहज गर्न स्पष्ट निर्देश नआएको गुनासो गरे।
तर, नेपाल आयल निगम ले भने बजारमा ग्यास अभाव नभएको दाबी गरेको छ। प्रवक्ता मनोज ठाकुर का अनुसार, आन्दोलनका कारण उपभोक्ताले अत्यधिक ग्यास सञ्चय होल्ड गरेका कारण बजारमा अभाव देखिएको हो। उनले ग्यास आपूर्ति सामान्य रहेको र वीरगञ्ज भन्सारबाट दैनिक बुलेटहरू पास भइरहेको बताए।
ग्यास विक्रेता महासंघ का वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलाल ले तत्काल अभाव नभए पनि केही दिन यस्तै अवस्था रहे ग्यास अभाव हुन सक्ने चेतावनी दिएका छन्। उनले कर्फ्युका कारण उपभोक्तामा त्रास बढेको र पसलहरू बन्द हुँदा वितरण प्रभावित भएको बताए।
यसैबीच, उपत्यकाका उपभोक्ताहरू ग्यास नपाएर फर्किएको गुनासो गरिरहेका छन्। कलंकीका रमेश खड्का भन्छन्, “तीन दिनको आन्दोलनमै ग्यास सकिने देशमा हामी सर्वसाधारण कसरी बाँच्ने ? ”
आन्दोलनका कारण आपूर्ति शृङ्खला प्रभावित भइरहे पनि सरकार, आयल निगम, र उद्योग संघबीचको समन्वय अभावले समस्या समाधानमा ढिलाइ भइरहेको देखिन्छ। उपभोक्तालाई आवश्यक मात्रामा ग्यास खरिद गर्न र सञ्चय नगर्न आग्रह गरिएको छ।
