काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अन्तरिम सरकार गठनको सन्दर्भमा प्रमुख सेनापति समक्ष सम्बोधन गर्दै आफ्नो राजनीतिक अडान सार्वजनिक गरेका छन् ।
उनले आफूलाई अन्तरिम सरकारको नेतृत्वमा ल्याउने प्रस्तावप्रति कृतज्ञता व्यक्त गर्दै सेनापतिसहित नेपाली सेनाप्रति धन्यवाद दिएका छन् । ‘हामीलाई विश्वास गरी आह्वान गर्नुभएकोमा तपाईं र सम्पूर्ण नेपाली सेनाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ’, प्रसाईंले भने ।
प्रसाईँले सरकारमा जानु आफ्नो व्यक्तिगत स्वार्थ नरहेको दाबी गर्दै जनताको पीडा, आशा र भरोसाको जिम्मेवारी बोकेको बताएका छन् । ‘हाम्रो काँधमा केवल सर्वहारावर्ग, भुइँमान्छे र उत्पीडित वर्गका पीडाहरू मात्र होइन, लघुवित्त, बैंक र सहकारीबाट पीडित, कालो सूचीमा परेका नागरिक, रोजगारीका लागि विदेशिन बाध्य भएका युवा तथा आवाजविहीन जनताको भविष्य पनि रहेको छ,’ उनले उल्लेख गरेका छन् ।
राजनीतिक दलहरूले सरकार चलाउँदा आफूले निरन्तर सडकमा उभिएर जनताको मुद्दा उठाएको दाबी गर्दै उनले अन्तरिम सरकारप्रति कडा सन्देश पनि दिएका छन् । उनका अनुसार नागरिकको जीवनस्तरमा सुधार हुने माग पूरा नगरी उनीहरू सरकारमा प्रवेश गर्ने छैनन् ।
‘हामी दृढतापूर्वक विश्वास गर्छौँ कि कुनै पनि आन्दोलन देशको माटो र जनताको आवश्यकतामा आधारित हुनुपर्छ,’ प्रसाईँले भने, ‘विदेशी शक्तिको पैसा र निर्देशनमा चलाइने आन्दोलनबाट नेपाल र नेपालीको भाग्यमा दिगो परिवर्तन सम्भव हुँदैन ।’
प्रसाईँले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अडान पनि दोहोर्याएका छन् । ‘विद्यमान संविधान खारेज हुनुपर्छ र नेपाललाई पुनः सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्छ,’ उनले भनेका छन् । मुलुकको सार्वभौमिकता र सांस्कृतिक पहिचानविरुद्ध भइरहेको भनिएका गतिविधिप्रति उनले घोर भत्र्सना व्यक्त गरेका छन् ।
दल दर्ताको अन्तिम तयारीमा रहेको जानकारी दिँदै उनले आगामी निर्वाचनमार्फत सरकारमा सहभागिता जनाउने र जनताका दीर्घकालीन मुद्दाहरू समाधान गर्ने योजना रहेको स्पष्ट पारेका छन् ।
प्रसाईँले अन्त्यमा भनेका छन्, ‘देश र जनताको आशा–भरोसा पूरा गर्न हामी निरन्तर सडकमा पनि रहनेछौँ ।’ मुलुकलाई स्थायित्व, सुशासन र समृद्धिको दिशामा लैजान आफूहरू प्रतिवद्ध रहेको उनको भनाइ छ ।








