काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई ‘जेन-जी विद्रोह’ को भावनाअनुसार काम गर्ने भन्दा नपत्याइएको गुनासो गरेका छन् । आइतबार फेसबुक लाइभमार्फत् उनले वर्तमान आन्दोलन केवल केपी शर्मा ओली नेतृत्वको सत्ता हटाउनमा मात्र सीमित नभएको भन्दै प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखेका हुन् ।
मेयर साम्पाङले आफू गृहमन्त्री बन्नका लागि तीव्र लबिइङ गरेको स्वीकार गर्दै आफूलाई उक्त पद नदिइएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘२०७२ को कानुनमा टेकेर नयाँ नियम, पद्धति बनाउन सक्छौं त ? सक्दैनौं । यो विद्रोह अर्कै चिज बनाउनका लागि हो । त्यही म्यान्डेटअनुसार गर्छु भन्दा मलाई पत्याउनुभएन । अथवा कुनै प्रभुशक्ति… अथवा के पनि हुनसक्छ..!’
उनले आफ्नो स्पष्ट र भ्रष्टाचारविरोधी छविका कारण काम गर्न अप्ठ्यारो भएकाले पनि आफूलाई गृहमन्त्री नदिइएको हुनसक्ने अनुमान गरे । ‘कतिले गृहमन्त्री बन्नुपर्छ भन्नुहुन्छ। त्यसमा पनि अप्ठ्यारो छ । जुन खालको क्यारेक्टर म हुँ, भ्रष्टाचार मन पर्दैन । भ्रष्टाचारको ‘भ’ पनि उच्चारण गरेको मन पर्दैन । बेथितिको ‘ब’ पनि उच्चारण हुन दिन्न । म बलियो, नियम, नियमन मन पराउँछु । म ‘ल एन्ड अर्डर’ पालना गर्नुपर्छ भन्ने मान्छे हुँ,’ उनले आफ्नो अडान राखे ।
साम्पाङले देशमा एउटा चुनाव ल्याउनका लागि मात्र भयानक विद्रोह नभएको र आन्दोलनपछि त्यसको मर्मअनुरूप चल्न नसकेकोमा पनि गुनासो गरे । उनले पुरानो संसद विघटन गरेर नयाँ सांसदहरू चुन्नु मात्र आन्दोलनको उद्देश्य नभएको र यसको मर्म प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्थामा जानुपर्नेमा जोड दिए । ‘विद्रोह नै म्यान्डेट भएकाले कुन कानुनका दफाले दिँदैन भनेर हेर्नु हुँदैन,’ उनको तर्क थियो ।
उनले विद्रोहको जगमा नयाँ नियम खडा गरेर त्यसै अनुरूप अगाडि बढ्नुपर्ने बताए । ‘त्यसका लागि कुनचाहिँ धाराले दिएन भन्ने होइन, अहिलेका लागि एउटा नियम लेखेर अगाडि बढ्नुपर्छ । नियमावली पारित गरेर त्यसैमा टेकेर अगाडि जानुपर्छ,’ उनले भने ।
उनले सम्पूर्ण युवा र नेपालीले आमूल परिवर्तनको आशा गरेको र प्रत्यक्ष रूपमा चुनिने कार्यकारी प्रमुखले देशलाई पाँच वर्षसम्म सञ्चालन गर्न पाउँदा स्थायित्व आउने बताए । साम्पाङले फागुनमा चुनाव नहुने र भइहाले पनि तिनै पुराना दलहरूले सम्झौतामा सरकार चलाउने र अस्थिरता दोहोरिने सम्भावना औंल्याए । यसको समाधानका लागि उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने अहिलेको आवश्यकता भएकोमा जोड दिए । ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपतिको चुनाव गर्ने गरी जानुपर्छ,’ उनले भने ।
वर्तमान आन्दोलनमा निहित स्वार्थ राख्नेहरू पनि हुनसक्ने भन्दै उनले आफूजस्ता मानिसलाई समावेश नगरिने बताए । उनले भने, ‘विदेशीको कठपुतली पनि होइनौं हामी । विदेशीको चलखेल हुने, विदेशीको रणमैदान बनाउने, उसको खेल्ने, खाने ठाउँ पनि हाम्रो देश बन्नुहुँदैन भन्ने कुरामा मेरो बटम लाइन हो ।’










