काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा क्षति पुगेका कम्पनीहरुले धमाधम बिमा दाबी माग गर्न थालेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म लघुबिमासहितका १८ वटा निर्जीवन बिमा कम्पनीहरुमा २० अर्ब ७० करोड बराबरको १ हजार ९ सय ८४ वटा बिमा दाबी परेको हो ।
जसमा सबैभन्दा धेरै दि ओरियन्टल इन्स्योरेन्समा दाबी परेको छ । सबैभन्दा धेरै क्षति पुगेको भाटभटेनी सुपरस्टोरको बिमा यही इन्स्योरेन्समा भएका कारण पनि अन्यको तुलनामा ओरियन्टलको बिमा दाबी सबैभन्दा धेरै देखिएको हो ।
यो कम्पनीमा कुल ५ अर्ब ४१ करोडबराबरको ४० वटा दाबी माग गरिएको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ । यो कम्पनमिा ४ अर्ब ९३ करोडको २ सय ५८ वटा दाबी पर्दा शिखर इन्स्यारेन्समा २ अर्ब ३९ करोडको ३ सय ६६ वटा दाबी परेको हो ।
योबाहेक आईजीआई प्र्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सको १ अर्बमाथिको दाबी पर्दा अन्य ११ वटा बिमा कम्पनीमा भने अर्बभन्दा थोरै मात्र बिमा दाबी परेको छ ।
जेनजी प्रदर्शनमा सरकारी कार्यालयसँगै देशभरका अधिकांश ठूला निजी व्यवसायहरुमा आगजनी गरिएको थियो । जसमा अधिकांश पूर्णरुपमा क्षति पुगेको छ । सरकारी कार्यालयहरुको बिमा नभएको हुँदा कुल २० अर्ब ७० करोडको दाबी निजी क्षेत्रको मात्रै रहेको प्राधिकरणले जनाएको छ ।
