काठमाडौं । हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्बिर’ सार्वजनिक गरेको छ, जसमा नेपालका विपिन जोशीको तस्बिर पनि समावेश छ ।
इजरायली सेनाको व्यापक हवाई र स्थलगत आक्रमणले बन्दीहरूको सुरक्षामा खतरा उत्पन्न गरेको हमासको दाबी छ । अल जजिराका अनुसार, इजरायली सेनाले गाजा सिटी नियन्त्रणमा लिने अभियान जारी राख्दा यो तस्बिर सार्वजनिक भएको हो । शनिवार अनलाइनमा पोस्ट गरिएको सङ्कलित तस्बिरमा जीवित र मृत बन्दीहरूको अनुहार देखाइएको छ, जसलाई ‘रोन अराड’ क्याप्सन दिइएको छ ।
यो सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेना क्याप्टेन रोन अराडलाई संकेत गर्छ, जो आमल आन्दोलनले कब्जा गरी हिज्बुल्लाहलाई सुम्पिएका थिए । उनको मृत्यु भएको विश्वास छ, तर निर्णायक प्रमाण छैन । हमासले तस्बिरसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सम्झौता अस्वीकार र सेनाप्रमुख एयाल जामिरको गाजा सिटी विजय योजनालाई संकेत गर्दै ‘बिदाई तस्बिर’ भनेको छ ।
इजरायली अधिकारीहरूले करिब २० बन्दी जीवित रहेको विश्वास गरेका छन्, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित रहेको बताएका छन् । नेतान्याहू र ट्रम्पले सबै बन्दी फिर्ता गर्ने र हमासलाई ध्वस्त गर्ने दाबी गरेका छन् ।
