नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक दलका नेता तथा कार्यकर्तामाथि भ्रष्टाचार छानबिनको नाममा प्रतिबन्ध र जेल हाल्ने चलखेल भइरहेको गम्भीर आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारका नाममा संविधानमाथि सङ्कट उत्पन्न भएको र प्रतिक्रियावादी शक्तिहरूले लोकतान्त्रिक उपलब्धि खोस्न खोजेको दाबी गरेका हुन् ।
“संविधान खारेज गर्ने, अन्तरिम संविधान ल्याउने, कठपुतली पात्रमार्फत स्वार्थ पूरा गर्ने प्रयास हुँदैछ,” प्रचण्डले भनेका छन् । साथै उनले फागुन २१ मा तोकिएको निर्वाचन समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् ।
प्रचण्डले नेपालको राजनीतिक इतिहासकै कठिन परिस्थितिमा रहेको पनि भनेका छन् । ‘यतिखेर हामी नेपालको राजनीतिक इतिहासकै अत्यन्तै कठिन परिस्थितिमा रहेका छौँ’ उनले भनेका छन्, ‘क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा रहेको यो समयमा ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्न सकिने अवसर र चुनौती हाम्रासामु रहेको छ।’
साथै, समग्र परिस्थितिको वस्तुगत समीक्षाका आधारमा पार्टीले आगामी रणनीति तय गर्नुपर्ने प्रचण्डको भनाइ छ।









